शीर्ष नेतालाई अन्तिम अवसर

होस्ट खबर २४ श्रावण २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं : पछिल्लो डेढ दशकको नेपाली राजनीतिमा चतुर खेलाडीको पहिचान बनाएका नेता हुन्, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल। शान्तिप्रक्रियामा आइसकेपछि उनले चालेका ‘दाउ’हरूले लगभग सबैजसो सरकार फेरबदलमा भूमिका खेलेका छन्। आफ्नो पार्टीको निर्णायक शक्ति समीकरणको प्रयोग गरेर उनले पटकपटक सरकार बनाएका छन्, भत्काएका छन्।

यिनै दाहालले गत साता एउटा कार्यक्रममा आगामी प्रतिनिधिसभा निर्वाचन आफ्ना लागि ‘अन्तिम इनिङ’ रहेको अभिव्यक्ति दिए। पार्टीकै एक कार्यक्रममा बोल्दै उनले यसपटकको निर्वाचनमा माओवादी केन्द्रलाई देशको ‘दोस्रो’ र कम्युनिस्टतर्फको ‘पहिलो’ पार्टी बनाउने दाबी गरे।

त्यो अवस्था सुनिश्चित हुनेगरी गठबन्धनलाई अगाडि बढाउने योजना आफूले बनाएको पनि उनले सुनाए। निर्वाचनमा आफ्नो योजना सफल भए ‘देशको बागडोर माओवादी केन्द्रको हातमा आउने’ दाहालको प्रक्षेपण थियो। ‘देशको दोस्रो र कम्युनिस्टको पहिलो पार्टी भइसकेपछि निश्चय नै बागडोर हाम्रै हातमा आउँछ,’ उनले भनेका थिए।

यही मौकामा आफू ‘लास्ट इनिङ’ फेरि प्रधानमन्त्री बन्न चाहेको पनि अध्यक्ष दाहालले बताएका थिए। ‘यो निर्वाचन र अवसर मेरो लास्ट इनिङ होस्, पछिसम्मको सन्ततिलाई सम्झने गरी होस् भन्ने, देशलाई केही दिने होस् भन्ने मेरो सपना छ,’ उनले भनेका थिए। उनले दुईपटक प्रधानमन्त्री भएर सरकार हाँकिसकेका छन्। तर दुवैपटक प्रधानमन्त्री हुँदा चाहेजति काम गर्न नपाएको गुनासो गर्दै उनले ‘त्यसकारण नै आफू फेरि प्रधानमन्त्री बन्न चाहेको’ भन्ने गरेका छन्।

दाहालजस्तै ‘लास्ट इनिङ’ प्रधानमन्त्रीको चाहना राख्ने शीर्ष नेताहरूको सूची लामै छ। कांग्रेस नेता रामचन्द्र पौडेल, एमाले अध्यक्ष केपी ओली, नेकपा एकीकृत समाजवादी ९नेकपा एस० अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्रीहरू बाबुराम भट्टराई र झलनाथ खनाललगायत यो सूचीमा पर्छन्।

पौडेलका दौंतरी प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पाँचपटक देशको प्रधानमन्त्री हुने सौभाग्य पाइसके। तर पौडेललाई प्रधानमन्त्री बन्न भाग्यले अहिलेसम्म साथ दिएको छैन। १७ पटक प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गरे पनि उनी सफल भएनन्।

पटकपटक मन्त्री, एकपटक सभामुख मात्र नभएर उपप्रधानमन्त्रीसमेत भइसकेका पौडेलको अन्तिम चाहना प्रधानमन्त्री बन्ने नै हो। बढ्दो उमेर, पार्टीभित्र एक्लिँदै गएको अवस्थाका कारण उनका लागि यसपटकको निर्वाचन अन्तिम अवसर हो। नागरिक दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array