४ महिनामा चितवनका ३१ ठाउँमा बर्ड फ्लु देखियाे

होस्ट खबर २० बैशाख २०७९, मंगलवार
4 Min Read
Aa

चितवन – कुखुरा पालनको राजधानीका रूपमा चिनिएको चितवनमा पछिल्लो चार महिनामा ३१ पोल्ट्री फार्ममा बर्ड फ्लु देखापरेको छ । माघ २८ गते पहिलो पटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्ड फ्लु अहिले जिल्लाभरि नै फैलिएको हो ।

अहिलेसम्म बर्ड फ्लु देखिएका फार्महरूमा दुई लाख ३३ हजार तीन सय १२ लेयर्स कुखुरा मारिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी डा. प्रभाष न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार ब्रोइलर ६ सय ४६, कडकनाथ आठ सय ९६, ३५ वटा हाँस नष्ट गरिएको छ । बर्ड फ्लुका कारण जिल्लामा एक लाख ७८ हजार दुई सय २६ अण्डा, ६२ हजार नाै सय २० किलोग्राम दाना, ५८ हजार दुई सय २० थान क्रेट, ६ हजार टर्की ब्रिडिङ अण्डा, प्यारेन्ट ब्रोइलर तीन हजार चार सय ७६ वटा, एक हजार तीन सय ८० वटा गिरीराजको अण्डा, एक हजार पाँच सय थान काटुन, ६ सय ६० थान डाला र ४० किलोग्राम तयारी मासु नष्ट गरिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।

पूर्वी क्षेत्रमा बर्ड फ्लुको बढी असर देखिएको छ । पछिल्लो पटक खनाल पोल्ट्रीमा बर्ड फ्लु देखिएपछि त्यहाँका ९० हजार कुखुरा नष्ट गरिएको थियो । बर्ड फ्लु देखिएकामध्ये चितवनकाे सबैभन्दा ठूलो फार्म खनाल पोल्ट्री हो । पूर्वी चितवनकै अर्को एक फार्ममा तीव्र परीक्षण गर्दा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमुना काठमाण्डाै पठाइएको उहाँले बताउनुभयो । याे फर्ममा एक लाख २० हजार लेयर्स कुखुरा थिए ।

बर्ड फ्लुले कुखुरा मर्न थालेपछि कतिपय किसानले बजारमा बिक्री गर्दा रोग तीव्र रूपमा फैलिएको अनुमान गरिएको छ । सरकारी तवरबाट दिइने राहतको प्रक्रियामा पर्खिँदा कुखुरा मरेर सकिने र केही बाँकी रहे तिनका लागि राहतप्रति किसान विश्वस्त हुन नसक्दा कतिपय किसानले कुखुरा बेचेको पाइएको छ । अनुगमनमा कडाइ हुन नसकेका कारण रोग फैलिएको हो ।

बाग्मती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. शरण  पाण्डेले केही किसानले सङ्क्रमण देखिन थालेपछि कुखुरा बिक्री गर्दा रोग फैलिएको बताउनुभयो । जैविक सुरक्षामा किसानले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । यो प्रदेशमा सबैभन्दा बढी चितवन र त्यसपछि काठमाण्डाैमा बर्ड फ्लु फैलिएको छ । सचिव डा. पाण्डेका अनुसार मन्त्रालयले आफ्ना मातहतका कार्यालयमार्फत तीव्र परीक्षण गर्ने काम गरिरहेको र परीक्षण गरेर मात्र ढुवानी गर्न दिइएको र भाइरस रोक्न नसकेमा रोग फैलिरहने भएकाले सबैको साथ र सहयोगबाट मात्र रोग नियन्त्रमा ल्याउन सकिने उहाँले बताउनुभयो ।

नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टिकाराम पोख्रेलले नेपालमा बर्ड फ्लु नियन्त्रणका लागि भ्याक्सिनकाे अनुमति नदिँदा ठूलो नोक्सानी बेहोर्नुपरेको बताउनुभयो । छिमेकी देशहरूमा भ्याक्सिन लगाइरहे पनि नेपालमा भ्याक्सिन दिन रोक्दा रोग नियन्त्रणमा लिन नसकिएको उहाँको भनाइ थियो । पूर्वी क्षेत्रमा रोगको प्रकोप निकै बढी भएको भन्दै उपाध्यक्ष पोख्रेलले थलिएको पोल्ट्री व्यवसायमा रोगका कारण थप असर पुगेको  बताउनुभयो । नेपालमा पोल्ट्री व्यवसायमा एक खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको अनुमान छ ।

नेपालको पोल्ट्री व्यवसायको झन्डै आधा हिस्सा चितवनमा रहेको छ । धेरै कुखुरा भएकै ठाउँमा बर्ड फ्लुको प्रकोप देखिएकाले नोक्सान बढी भएको हो । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले भेटेनरीमा तथ्याङ्क नआएका धेरैको कुखुरा रोगका कारण मरेका बताउनुभयो । रोगकै कारण करोडौँ रुपैयाँको क्षति किसानले बेहोरेकाले  फेरि कुखुरा पाल्न नसक्ने अवस्थामा किसान पुगेको उहाँको भनाइ थियो । अहिलेसम्मकै सङ्कटग्रस्त अवस्थामा पोल्ट्री व्यवसाय पुगेको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो । साभार उज्यालो अनलाईन

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्