काठमाडौं : मिस ग्लोबल इन्टर्नेशनल २०१४ कि फस्ट रनरअप सुस्मिता रेग्मी आफू बलात्कार र यौन हिंसाको सिकार ६ महिनासम्म पटक पटक भएको बताएकी छन् । सामाजिक सञ्जालको सहारा लिँदै उनले आफू माथि भएको घटनाको विस्तृत जानकारी सार्वजनिक गरेकी छन् । उनले सार्वजनिक गरेको भिडियोमा नाम चलेका व्यक्तिहरू समेत तानिएका छन् ।
पूर्व मिस नेपाल माल्भिका सुब्बा, फोटो पत्रकार श्रीधर पौडेल, उक्त कार्यक्रमका आयोजक तथा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे लगायतको नाम यस केसमा मुछिएको छ । सुब्बालाई रेग्मीले सहयोग मागेकोमा बलात्कृत हुनु तिम्रो समस्या हो मेरो होइन भन्दै पन्छिएकोमा अहिले आएर उक्त समय ज्ञान अभावमा सहयोग गर्न नसकेको भन्दै माफी मागिरहेकी छन् ।
त्यस्तै पौडेलले व्यावसायिक फोटोग्राफर भएकोले पाण्डेसँगको सम्झौता अनुसार तस्बिर खिचेको र पारिश्रमिक लिएको बाकी कुरामा आफ्नो संलग्नता नरहेको बताएका छन् ।
आठ वर्षअघि यौन हिंसाबाट पीडित किशोरीको पक्षमा आजपनि काठमाडौंको प्रदर्शन सुरु भएको छ । राजधानीको माइतीघर मण्डलामा जारी प्रदर्शनमा सहभागीहरुले यौन हिंसाका घटनाको हद म्याद हटाउनुपर्ने र दोषीलाई कानुनी दायरामा ल्याउन माग गरिरहेका छन् ।
यसअघि शुक्रबार पनि बालुवाटारमा किशोरीको पक्षमा प्रदर्शन भएको थियो। शुक्रबार प्रतिनिधि सभामा पनि किशोरीको न्यायको आवाज उठेको थियो। सभामुखले पनि घटनाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएका छन्।