रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रुकुम पुगेर विगतका केही आफ्ना कदमको आत्मालोचनासहित नयाँ सङ्कल्प गर्न नागरिक माझ आएको बताएको छ । उनले विगतका वाचा, प्रतिबद्धता कहिल्यै नभुल्ने बताउँदै देश र नागरिकप्रति दायाँ–बायाँ नगरेको र अब पनि नगर्ने प्रतिबद्धता जनाए ।
‘२०७० को चुनावमा आफूमाथि बम हान्नेलाई गृहमन्त्री बनाएर, योगदान कमै भएकालाई स्थायी कमिटीमा लिएर अलिकति गल्ती गरेँ कि भन्ने लागेको छ’, उनले भने ‘तर विगतको आन्दोलनमा इमानदारिताका साथ लागेका नागरिकको साथमै लाग्ने सङ्कल्प गर्न रुकुम आएको हुँ ।’ उनले सहिद परिवार तथा जनयुद्धताका त्याग गर्नेहरु ओझेलमा परे कि भन्ने लागेको तर अब त्यस्तो नगर्ने बताएका छन ।
३२ औँ जनआन्दोलन दिवसको अवसरमा नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसिकोटमा आयोजना गरेको जन प्रशिक्षण कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष दाहालले जन प्रशिक्षण गर्न आएको आफूले रुकुमबाट उल्टो प्रशिक्षण पाएको बताए । अब नागरिक माझ धेरै बोल्नुभन्दा काम गर्नुपर्ने आफूले देखेको भन्दै दाहालले नागरिक आफूलाई हैन, आफू नागरिकलाई हेर्न रुकुम आएको समेत बताए। रुकुम आएर शक्तिशाली ऊर्जासहित काठमाण्डौ फर्कने गरी प्रशिक्षित भएको समेत उहाँले जनाउनुभयो ।
अब अर्को शिराबाट जनयुद्ध हुन्छ
कार्यक्रममा उहाँले अब अर्को शिराबाट जनयुद्ध थालनी हुने बताउनुभएको छ । उहाँले हिंसाविहीन तर नयाँ क्रान्तिको सुरुवात रुकुमबाटै हुने बताउनुभयो । प्रदेश सरकारलाई अपदस्थ गर्ने कोसिस भएको बताउँदै उनले केही समय प्रतिपक्षमा बस्न तयार भएको र चाँडै नै नागरिकको साथले देशिय रुपमा विजयी हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष दाहालले जनयुद्ध र जनआन्दोलनको उपलब्धी केही व्यक्तिहरुले खतरामा पारेको आरोप लगाए । ‘नागरिकलाई फेरि अन्याय, विभेदमा जाँतोमा पिस्ने षड्यन्त्र भयो’, दाहालले भन्नुभयो, ‘काठमाण्डौमा लडेको लडाइँले बल पुगेन, षड्यन्त्रलाई परास्त पार्ने ताकत जनयुद्धको आधारभूमिबाट खोज्न आएँ ।’
प्रचण्डको ताकत छैन भन्नेहरूलाई रुकुमेली नागरिकका बीचबाट खबरदारी गर्न चाहेको समेत उनले बताए । क्रान्तिकारी नागरिकको कहिल्यै नटुङ्गिने साथ र ऊर्जाले आफूले अब थोरै समय काठमाण्डौ र धेरै समय नागरिकको बीचमा दिन चाहेकाले आफू कुनै हालतमा प्रतिगमनकारीविरुद्ध नझुक्ने प्रचण्डले बताए ।