काठमाण्डौं : गणितको परीक्षा दिइरहेकी १३ वर्षकी एक छात्राले परीक्षा दिने क्रममै बच्चा जन्माएकी छिन् । आश्चर्यजनक रुपमा बच्चा जन्माइसकेपछि ती छात्रा आफ्नो परीक्षा डेस्कमा फर्किएर आफ्नो परीक्षा पनि पूरा गरिन् । ती छात्रालाई ४५ मिनेट थप समय दिइएको थियो । यी छात्रा युगाण्डाकी हुन् र उनलाई लकडाउनको समयमा यौनसम्बनधका लागि लोभ्याइएको समाचारमा जनाइएको छ ।
युगाण्डाको बुवामा सहरमा बुधबार परीक्षा दिँदै गर्दा ती छात्रालाई अचानक व्यथा लागेको थियो । प्रधानाध्यापक गडफ्रे सेमान्डाले डेली मिररलाई बताएअनुसार २० मिनेटपछि उनले आफ्नो कक्षामा रहेका परीक्षकलाई यसबारे बताएपछि परीक्षकले सहकर्मीलाई बोलाएका थिए । छात्रालाई तत्कालै नजिकैको मेडिकल सेन्टर लगियो जहाँ उनले बच्चा जन्माइन् । आश्चर्यजनक रुपमा एक घण्टाभित्रै ती छात्रा बच्चा जन्माएर पुनः परीक्षा हलमा फर्किइन् र परीक्षा पनि पूरा गरिन् ।
छात्राका अनुसार उनले आफूले परीक्षा पूरा गर्न सक्छु भन्ने सोचेकी थिइन् । उनले एनटिभीसँगको कुराकानीमा भनिन् ‘जब मलाई व्यथा लाग्यो मैले संसार नै समाप्त हुँदैछ जस्तो महसुस गरें । तर म विश्वस्त थिएँ भगवान मेरो साथमा हुनुहुन्छ र मैले यो परीक्षा मिस गर्ने छैन । म खुसी छु मैले त्यो गर्न सकें ।’ प्रधानाध्यापक सेमान्डाका अनुसार परीक्षा सकेपछि उनी क्लिनकमा गएकी थिइन् । दिउँसो उनले सामाजिक शिक्षाको परीक्षा समेत दिन सकिन् ।
नर्स गोरेथ मिरेम्बेका अनुसार बच्चा जन्माउने क्रममा कुनै समस्या भएन र छात्राले क्लिनिक ल्याइएको २० मिनेटभित्रै बच्चा जन्माइसकेकी थिइन् । मिरेम्बेले एनटिभीसँग भनिन् ‘उनी भाग्यमानी थिइन् त्यसैले कुनै जटिलता आएन । दुवै आमा र बच्चा ठिक छन् ।’ छात्राका अभिभावकका अनुसार उनी गत वर्ष लकडाउनका क्रममा गर्भवती भएकी थिइन् ।