काठमाण्डौं : नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमा अपहरण भएकाले २ महिनादेखि रक्तपातहीन युद्धमा रहेको बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित २० औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमाथि प्रहार र संघीय लोकतान्त्रिक गणतन्त्रलाई ध्वस्त पार्ने कदमका विरुद्ध आफूहरु शान्तिपूर्ण र रक्तपातहीन युद्धमा लाग्नुपरेको बताए ।
उनले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा परेका मुद्दाको फैसला आउने अन्तिम चरणमा रहेको भन्दै त्यो फैसलाले अवको कुनैपनि बेला संविधान मिच्ने कदम सच्चिने र संसद पुनःस्थापना हुन्छ भन्नेमा आफू विश्वस्त रहेको बताए ।
अहिले हामी गएको पुस ५ देखि अर्को युद्धमा छौँ । जव संसदलाई संविधानको मर्म र भावनाविपरित विघटन गरियो । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गरियो त्यसका विरुद्ध युद्धमा छौँ, तर रक्तपातहीन र शान्तिपुर्ण युद्धमा’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डको भनाइ छ ।