सुर्खेत : जेष्ठ नागरिकको लागि सामाजिक सुरक्षा भत्ता वितरणमा सहजता ल्याउनको लागि वडाहरुमा सचेतना अभियान सञ्चालन गरिने भएको छ । जेष्ठ नागरिकहरुले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता पाउन समस्या आएको जनगुनासो आएपछि यसलाई सहजता ल्याउन गाउँमा अभियान सञ्चालन गरिने भएको हो ।
शान्तीका लागि साझा अभियान (कोक्याप) कर्णाली प्रदेशले आइतवार वीरेन्द्रनगरमा आयोजना गरेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सामाजिक सुरक्षा ऐन २०७५ तथा नियमावली २०७ ६मा भएको व्यवस्थाका बारेमा वडा कार्यालय तथा टोल टोलमा गएर सचेतना फैलाउने निर्णय गरेको छ ।
अपांग समाजका प्रदेश संयोजक नन्दप्रसाद चौलागाईले अझैपनि जेष्ठनागरिकलाई सामाजिक सुरक्षा भत्ता लिनको लागि कठिन भएको भन्दै यसलाई सहज बनाउनुपर्ने आवश्यकता रहेको बताए । धेरैजसो बैंकका कार्यालयहरु माथिल्लो तलामा हुने भएकाले जेष्ठ नागरिकलाई असहज भएको बताए ।
धेरैजसो बैंकका कार्यालयहरु माथिल्लो तलामा छन् यस्तोमा अपांगता तथा अशक्त भएकालाई आउन मुस्किल हुन्छ’ उनले भने, यसको लागि वडाहरु र टोलमा समन्वय गरेर अपांगता भएका तथा अशक्त जेष्ठ नागरिकको लागि टोलमा गएर भत्ता वितरण गर्ने व्यवस्था गरिनुपर्दछ ।
जेष्ठ नागरिक महासंघका कोषाध्यक्ष कृष्णप्रसाद पौडेलले जेष्ठनागरिकलाई बैंकमा गएर भत्ता लिन घण्टौ लाइनमा बस्नुपर्ने बाध्यता रहेको भन्दै यसलाई सहज तरिकाले मिलाएर वितरण गरिनुपर्ने बताए । यसको लागि वडा र टोलमा गएर समन्वय गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाई थियो । शान्तिका लागि साझा अभियान(कोक्याप) का शान्ता भुषालले सामाजिक सुरक्षा भत्ता वितरणमा सहजता ल्याउनको लागि सचेतनाका कार्यक्रम सञ्चालन गरिएको बताए ।