एजेन्सी : भारतको उत्तर प्रदेशको अमरोह जिल्लाको बावनखेडी गाउँमा यतिबेला मिडियाको आवतजावत बाक्लै छ । गाउँमा एउटा दुई तले घरको अगाडि मानिसहरुको बाक्लै भीड छ । यो शबनमको घर हो जसले १३ वर्षअघि प्रेमी सलिमसँग मिलेर परिवारका सात सदस्यको यसकारण हत्या गरेकी थिइन् किनभने परिवारले उनको विवाहमा बाधा पुर्याइरहेका थिए ।
शबनम र सलिमलाई यो मामिलामा मृत्युदण्डको सजाय सुनाइएको छ । जसलाई उच्च अदालत र सर्वोच्च अदालतले पनि सदर गरेको छ । राष्ट्रपतिले पनि दया याचिका खारेज गरिसकेका छन् । दुबैको डेथ वारेन्ट कुनै बेला पनि जारी हुनसक्छ । शबनम भारतमा मृत्युदण्ड पाउने पहिलो महिला हुन् । यसैकारण पनि उनको चर्चा विशेष छ ।
१४ अप्रिल २००८ को राती के भएको थियो
गाउँका एक वृद्ध रियासत अली उक्त दिनलाई स्मरण गर्दै भन्छन्, ‘त्यो रात गाउँमा हल्का वर्षा भएको थियो । राती करिब साढे दुई बजेको होला । त्यतिबेला गाउँकै एउटा ठूलो दुई तले भवनबाट चिच्याएको आवाज आउन थाल्यो । हड्बडाएर हामी घरतिर दौडियौं । त्यहाँ हामीले जे देख्यौं, त्यो म जीवनभरी बिर्सन सक्दिनँ । सात लास थिए । सबैको घाँटी काटिएको थियो । बगिरहेको ताजा मानिसको रगतले फनक्कै घुमायो । मानिसहरु सुतिरहेकै ठाउँमा उनीहरुको हत्या गरिएको थियो । यी सात लासबीच जिउँदो बचेकी घरकी एक्ली छोरी शबनम चिच्याउँदै रोइरहेकी थिइन् । एउटा बच्चा पनि मरेको थियो । त्यो देखेर म काँप्न थालेँ र त्यहाँबाट फर्किएँ ।
बुवाको लास हेरेर रोइरहेकी छोरीमाथि कसले शंका गर्न सक्छ
शबनमका काका सत्तार अली भन्छन्, ‘जब हामी पुग्यौं तब शबनम चिच्याएर रोइरहेकी थिइन् ‘मेरो पापालाई काटिदिए, सबैलाई मारिदिए’ भन्दै । मेरा भाइ, बुहारी, भतिजो सबैलाई मारियो । दोस्रो तलामा बनेको कोठाको भित्तामा रगतको टाटो देखाउँदै सत्तार अली भन्छन्, ‘यहाँ मेरो भाइ राजिदको शव थियो । जब दुबैले ९शबनम–सलीम० उनको गला काटिरहेका थिए तब उनी हल्लिरहेका थिए । त्यतिबेला शबनम उनको खुट्टामा बसिरहेकी थिइन् र सलिमले मेरो भाइको घाँटी काटिरहेको थियो । तीब्र गतिमा निस्किएको रगतको धारा भित्तामा लागेको थियो ।
उनी थप्छन्, ‘ठूलो भतिजो र बुहारीको शवको बीचमा बच्चा थियो । मलाई लागेको थियो, ऊ जिउँदो छ । बोकेर हेरेँ, उसको पनि मृत्यु भइसकेको रहेछ । उसको घाँटी थिचिएको थियो ।’ सत्तार अली भन्छन्, ‘शबनमले सबैलाई घरमा छिरेका केही बदमासले पूरा परिवारको हत्या गरेर भागेको बताइन् । पिताको लास नजिकै रोइरहेकी छोरीमाथि आखिर कसले शंका गर्न सक्छ । हामीले त सोचेका पनि थिएनौं कि कुनै छोरीले आफ्नो पूरा परिवारको यति क्रुरतापूर्वक हत्या गर्न सक्छिन् ।’
प्रहरीले ७२ घण्टामा खोलेको थियो राजः
डकैती र एक परिवारका सातजनाको हत्याको खबरपछि राती नै गाउँमा प्रहरी पुगेका थिए । अनुसन्धानको सुरुवाती घण्टामा नै प्रहरीलाई शंका भइसकेको थियो कि हत्यारा घरकै सदस्य हुन् ।शबनमले सबैतिरबाट सहानुभूति पाइरहेकी थिइन् तर प्रहरीले ७२ घण्टाभित्रै घटनाबारे पर्दाफास गरिदिए । प्रहरीले शबनमले प्रेमीसँग मिलेर सुरुमा पूरा परिवारलाई दुधमा निद्रा लाग्ने औषधी खुवाएको र पछि घाँटी रेटेको खुलासा गरिदियो ।
शबनमको परिवार सम्पन्न थियो, सलिम आरा मेसिनमा काम गर्दथेः
शबनमका पिता शिक्षक थिए र परिवार आर्थिक रुपमा सम्पन्न थियो । यो उनको घर हेरेर पनि अनुमान गर्न सकिन्छ । मारिएका सबैलाई यसै घरको परिसरमा एउटै लाइनमा राखेर गाडिएको छ । हत्याकाण्डका बेला शबनम २७ वर्षकी थिइन् । पश्चिमी उत्तर प्रदेशको यो इलाकामा साधारणतया २०–२२ को हुँदा नै युवतीको विवाह गरिने चलन छ तर एमए पास शबनम गाउँकै एक स्कूलमा शिक्षिका थिइन् र थप पढ्न चाहन्थिन् । शबनमकी काकी फातिमाले भनिन्, ‘विवाहको प्रस्ताव आउँदा अस्विकार गर्थिन् । आफूले नै रोजेको सँग विवाह गर्छु भन्थिन् ।
शबनम र सलिमको प्रेम प्रसंगबारे सोध्दा धेरै काम मानिसहरु बोल्ने गरेको एक भारतीय सञ्चार माध्यमले बताएको छ । स्रोतले गाउँलेसँग छुट्टा छुट्टै कुरा गरेर यस्तो उनीहरुबारे यस्तो निष्कर्ष निकालेको छ– सलिम–शबनमबीच प्रेम छ भन्ने थाहा भएपछि शबनममाथि प्रतिबन्ध लगाउन थालिएको थियो । शबनम कुनै पनि हालतमा सलिमसँग विवाह गर्न चाहन्थिन् तर यो सहज थिएन । दुबैको जाती पनि भिन्न थियो र आर्थिक स्थिती पनि । यस्तै शबनम अस्थायी शिक्षिका थिइन् जो चाँडै नै स्थायी हुन लागेको थिइन् भने सलिम एक आरा मेसिन चलाउने काम गर्दथे ।
सलिमका एक विशेष साथीले आफ्नो नाम नबताउने शर्तमा भने, ‘मलाई राम्रोसँग थाहा थियो कि शबनमसँग उसको चक्कर चलिरहेको थियो । शबनम ऊसँग विवाह गरेर घरबार बसाउन चाहन्थिन् । तर सलिमको ध्यान भने उनीमाथि भन्दा पनि उसको सम्पत्तिमाथि थियो । उनले जब विवाहका लागि दबाब दिन्थिन् तब उसले ‘तेरो परिवार बीचमा छ’ भन्ने गर्दथ्यो । त्यति नै बेला शबनम गर्भवती भएकी थिइन् । त्यसपछि सलिममाथि दबाब थप बढेको थियो ।
सलिमका साथी भन्छन्, ‘उसले शबनमलाई ‘तँ मलाई पाउनका लागि आफ्नो परिवारलाई नष्ट गर्न सक्छस् रु’ भनेर सोध्थे । सलिमलाई लागेको थियो कि यो कुराले शबनम पछि हट्नेछिन् । तर उनीहरु यति अघि बढे कि कसैले सोच्न पनि सक्दैन ।’
शबनमको घरको अगाडि जुटेको भीडमा केही युवती पनि देखिन्छिन् । तर सोध्दा कसैले केही बोल्दैनन् । शबनमकी एक साथी केही बोल्न खोजिरहेकी थिइन् तर उनका श्रीमानले उनलाई केही भन्नबाट रोके । गाउँमा मुस्लिमको बाहुल्यता छ । केही युवा शबनमको कुरा गर्दा मुस्कुराउँछन् र उनीहरुबीच ठट्टा सुरु हुन्छ ।
के शबनम र सलिमको प्रेम विवाह हुनसक्थ्यो रु यो प्रश्नमा मानिसहरुले गाउँमा कसैको पनि प्रेम विवाह नभएको बताए । तर शबनमकी काकी फातिमा भन्छिन्, ‘यति उनी भागेको भए त यति ठूलो काण्ड हुने थिएन । पछि सबैकुरा ठिक हुन्थ्यो ।’
केहीले भन्छन्, ‘शबनम र सलिमले परिवारको हत्या गरेपछि सबै सम्पत्ति आफ्नो हुने र दुबैले त्यसपछि विवाह गरेर बस्ने योजना बनाएका थिए होलान् । यो हत्याकाण्ड यसैको नतिजा हो । तर अब दुबैजना भिन्न जेलमा बन्छ छन् र मृत्युदण्ड कुरिरहेका छन् ।’ जेलमा नै हुँदा शबनमले छोरालाई जन्म दिएकी छिन् जो अब एक पत्रकारको घरमा हुर्किरहेको छ । गाउँकै एक वृद्धा भन्छिन्, ‘उसको एउटा छोरा छ, उनलाई मृत्युदण्ड दिइनु हुँदैन । ’
कतिले भन्छन्, ‘शबनमले लामो समयसम्म जेलमा बिताइसकेकी छिन्, उनलाई फाँसी दिएर केही हासिल हुनेछैन ।’ यस्तै अर्का एक व्यक्ति भन्छन्, ‘शबनमलाई फाँसी हुनैपर्छ । हामी सबैका पनि सन्तान छन् । यदि सजाय नदिइए जोसुकैले आफ्ना आमा–बुवाको घाँटी दबाइदिनेछ ।’
शबनमको घरमा अब उनको काकाको परिवार बस्न थालेको छः
शबनमको घरमा अब उनका काका सत्तार अलीको परिवार बसिरहेको छ । जग्गा जमिन पनि उनैले हेरिरहेका छन् । के उनीहरुले शबनमको छोरलाई सम्पत्ति देलान् रु यो प्रश्नमा उनी भन्छन्, ‘उनको छोरालाई त अदालतले नाजायज मान्छ भने उसलाई यो जग्गा जमिन कसरी बाँडफाँट गर्न सक्छौं रु’
शबनमकी काकी फातिमा भन्छिन्, ‘हामी त उसको शव पनि बुझ्दैनौं । अब उसको यहाँ केही पनि छैन । उनी आफैंले सबैकुरा नष्ट पारिन् । शबनमका काका र काकी उनको विषयमा कट्टर छन् । उनीहरु भन्छन्, ‘अहिलेसम्म त मृत्युदण्ड दिएर सबै खेल समाप्त भइसक्नु पर्ने हो । थाहा छैन किन, सरकारले उसलाई पालिरहेको छ । यदि कुनै इस्लामी देशमा उसले यस्तो गरेको भए उनको उहिल्यै मृत्युदण्ड भइसक्थ्यो ।
शबनमकी काकी फातिमालाई उनको विषयमा कुनै अफसोस छैन । तर हत्याकाण्डका बेला गाउँका प्रधान रहेका आस्ताने अली भन्छन्, ‘शबनम जेल भित्रै सडेपनि उनलाई मृत्युदण्ड भने दिइनु हुँदैन । उनको सम्पत्ति कि त उनको छोरालाई दिइनुपर्छ कि सरकारले जफत गर्नुपर्छ । उसको काकाले त सम्पत्ति बेचिरहेका छन् ।
सलिमकी आमा भन्छिन्, मेरो छोराले यस्तो गर्न सक्दैन,सलिमको परिवार पनि शबनम बस्ने गाउँ नजिकैको गाउँमा बस्छन् । भारतीय सञ्चार माध्यमका अनुसार त्यहाँका मानिसहरु खासै कुरा गर्नका लागि छैनन् । उनकी आमाले छोराबारे कुरा गर्र्दै भनिन्, ‘हामी जेलमा सलिमलाई जहिल्यै भेट्छौं तब उसले आफूलाई त्यहाँबाट निकाल्न बिन्ति गर्छन् । म त आमा हुँ, म जे सोच्नु त्यो बताउन सक्दिनँ । मेरो छोराले यस्तो गर्न सक्ला भनेर म विश्वास पनि गर्न सक्दिनँ । म त यहि प्रार्थना गर्छु कि अल्लाहले मेरो छोरालाई फिर्ता गरिदिउन् ।
के कहिल्यै शबनम–सलिमका छोरा ताजलाई भेट्नुभएको छ भनेर सोधिएको प्रश्नमा उनले आँसु निकाल्दै भनिन्, ‘म त्यो बच्चाबारे के भनूँ, ऊ त अबोध छ ।