नेपालगञ्ज : नेपाल नापतौल तथा गुणस्तर नियन्त्रण विभागले बाँकेका ११ वटा उद्योगलाई नेपाल गुणस्तर (एनएस) प्रमाण चिन्ह दिएको छ ।
सरकारले ११ प्रकारका वस्तुको आयात र बिक्री वितरण गर्दा एनएस चिन्ह लिन अनिवार्य (बाध्यकारी) गरेसँगै बाँकेका ११ उद्योगले मापदण्ड पुरा गरेपछि एनएस चिन्ह पाएका हुन् ।
विकास फलोर मिल, जगदम्बा फलोर मिल, जय बागेश्वरी सिमेन्ट, मेघा इलेक्ट्रिसिटी, ओम गणपति, शौरभ तेलमिल, जयमंगलम सिमेन्ट अंकुर टप, मित्तल प्रालि, बागेश्वरी आइरन इन्ड्रस्ट्रिज शिखर केवल रहेका छन् । कुनै पनि उद्योगले गुणस्तर चिन्हको माग गर्दै दिएको निवेदनका आधारमा उद्योग र उत्पादनको निरीक्षण तथा परीक्षणपश्चात एनएस चिन्ह दिने गरिएको छ ।
उक्त चिन्ह दिनु पहिले र पछि पनि उद्योग तथा बजारबाट ती सामग्रीको गुणस्तर परीक्षण भइरहन्छ । बजारमा प्रतिष्पर्धा बढिरहँदा आफ्ना उत्पादन गुणस्तरीय भएकाले एनएस चिन्ह पाएको हो भन्ने देखाउन चाहने उद्योग क्रमिकरूपमा बढिरहेका निर्देशक दीपक ज्ञवालीले बताए । गुणस्तर चिन्ह लिइसकेपछि पनि विभागले वर्षेनी बजारबाट र उद्योगमै पुगेर उत्पादनको गुणस्तर हेर्ने गरेको छ ।
नेपालमा वस्तु तथा सेवाको गुणस्तरलाई नियमन गर्न औद्योगिक उत्पादनको गुणस्तर सुधार र परिमाणात्मक बृद्धिको उद्देश्यले २०३३ सालमा गुणस्तर निर्धारण समितिको गठन भएको थियो । सो मातहतको विभागले २०३७ सालदेखि गुणस्तर चिन्ह प्रदान गर्न थालेको हो ।