विराटनगर : आइतबार बिहानै धरानमा ७४ बर्षिया आमा र ६० बर्षिय छोराको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान उपमहानगरपालिका १७ ठेगाना भएका ती आमा छोराको मृत्यु भएको हो ।
उपमहानगरपालिका १७ का वडा अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज) का अनुसार उपचारका लागि दुई जनालाई शनिबार राति अस्पताल लगिएको थियो । आमा छोराको मृत्यु ४५ मिनेटको अन्तरमा भएको हो ।
७४ वर्षिय आमाको बिहान साढे ८ बजे मृत्यु भएको हो । छोराको मृत्यु ७ः४५ मा भएको हो ।
मृतक दुबैमा अत्याधिक खोकी, उच्च ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।
पौडेल थरका आमा छोरा दुबैलाई एउटै लक्षण देखिएपछि सँगै अस्पताल लगिएको थियो । विपी प्रतिष्ठानका प्रवक्ता डाक्टर सापकोटाका अनुसार आमालाई एकसाता यता र छोरालाई दश दिनयता कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएको थियो ।
दुबैमा दिर्घरोग मधुमेह र उच्च रक्तचापको समस्या थियो । छोरामा दुई महिनायता कलेजको पनि समस्या देखिएको प्रतिष्ठानका प्रवक्ता डाक्टर सापकोटाले जानकारी दिए ।