दोहा : कतारले कोरोना महामारी ९कोभिड–१९० को कारण लगाएको प्रतिबन्ध चरणबद्ध रुपमा हटाउने निर्णय अनुसार चौथो तथा अन्तिम चरणमा प्रवेश गरेको छ । जस अनुसार सेप्टेम्बर १ तारिख अर्थात मंगलबारदेखि मेट्रो,कर्वा बस लगायत सार्वजनिक यातायात सेवा ३० प्रतिशत यात्रु क्षमता राखेर पुनः सूचारु गरिने कतारको यातायात तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
सार्वजनिक यातायात क्षेत्रका सम्पूर्ण कर्मचारीले कोरोना परिक्षण गर्नु पर्ने, सबै सावधानीका उपायहरू अपनाएर सुनिश्चित गर्न सुपरभाइजरहरू परिचालन गरी यातायात पुनः सूचारु गर्न कतारको स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।
यातायातको टिकट अनलाइन बुकिङ्ग गर्नु पर्ने, स्टेशन भित्र र सार्वजनिक ट्रान्जिटमा खाने र पिउने प्रतिबन्ध लगाइने मन्त्रालयले जनाएको छ । धूम्रपान गर्न नपाइने तथा सामाजिक दूरी कायम गर्न पोस्टरहरू, फुटमार्क र संकेतहरू, फ्लोरहरू र सिटहरूमा अनिवार्य टास्नु पर्ने जनाएको छ । साथै, स्टेशनहरू सेनिटाइजर गरिराख्नु पर्नेछ ।
मोबाइलमा एह्तराज एप अनिवार्य हुनुपर्ने र ‘हरियो’ वस्तुस्थिति भएका र मास्क लगाउनेहरूलाई मात्र यात्रा गर्न अनुमति दिइने मन्त्रालयले जनाएको छ ।
यसघि कतारको विपत्ती व्यवस्थापन समितिले चौथो चरण दुई भागमा विभाजन गर्ने निर्णय गरेको थियो । सो निर्णय अन्तर्गत पहिलो भाग सेप्टेम्बर १ देखि र अवस्था सामान्य बन्दै गए दोस्रो भाग सेप्टेम्बर महिनाको तेस्रो हप्ता देखि लागू गरिने जनाएको छ ।
कतारमा अहिलेसम्म संक्रमितको संख्या १ लाख १८ हजार ४०७ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख १५ हजार २५१ जना पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म कोरोनाका कारण १९६ जनाले मृत्यु भएको छ । जस मध्ये कोरोना सङ्क्रमणबाट १८ जना नेपालीको पनि मृत्यु भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।
कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने दूतावाससंग पनि तथ्याङक छैन । कोरोनाबाट संक्रमित धेरै नेपालीहरु अहिले निको भएर काममा फर्किसकेका छन् ।