जुम्ला : अघिल्ला बर्षहरुमा यतिखेर जुम्ली स्याउ देशका अधिकांश स्थानमा पुगि सक्थ्यो । लगानी अनुसार जुम्लाको स्याउको माग पनि राम्रो नै थियो । यो बर्ष भने जुम्लाका स्याउ किसानहरु कोरोना र त्यसले निम्त्याएको कहरका कारण मारमा परेका छन् ।
कोरोना भाइरस रोकथामका लागि जुम्लालगायत देशका अधिकांश स्थानीय प्रशासनले निषेधाज्ञा जारी राखेपछि यसको मारमा जुम्लाका स्याउ व्यापारी पनि परेका हुन् ।
जुम्लाको मीठो स्याउ खरिद गर्न यतिबेला किसानका बगैँचामै स्थानीय तथा जिल्ला बाहिरबाट व्यापारीको घुइँचो लाग्ने गर्दथ्यो ।
तर अहिले स्याउ खरिद गर्न यहाँका बगैँचामा स्थानीय तथा बाहिरका कुनै व्यापारी पनि आउन पाएका छैनन् । निषेधाज्ञाले स्याउ व्यापारी बगैँचामा नपुगेको तिला गाउँपालिका–२ का स्याउ किसान कालीबहादुर रोकायाले बताए । उनले भने, ‘यस याममा जुम्लाको स्याउ सुर्खेत, नेपालगन्ज, दाङ र देशका अन्य विभिन्न शहरदेखि यहाँका स्थानीय बजारसम्म पुग्दथ्यो । यहाँका स्थानीय बजारमा पनि सानादेखि ठूला पसलसम्म जुम्ली स्याउले भरिभराउ हुन्थ्यो ।’
कोभिड– १९ को सङ्क्रमणले गर्दा स्थानीय बजारदेखि तराईका बजारसम्म निषेधाज्ञा भएकाले स्याउ कसरी कहाँ बिक्री गर्ने भन्ने समस्या भएको चन्दननाथ नगरपालिका–४ का स्याउ किसान शोभा कार्की गुनासो गर्छिन् । कृषि विकास कार्यालय जुम्लाले भदौ १० गतेदेखि मात्र स्याउ टिप्ने अनुमति दिएको छ । किसानले अघि पाक्ने स्याउ टिप्न शुरु गरेको जनाएका छन् ।
स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख नवराज भण्डारीका अनुसार यस वर्ष जुम्लामा १० हजार मेट्रिकटन स्याउ फल्ने पूर्वानुमान गरिएकामा त्यति उत्पादन नहुने देखिएको छ । उनले अहिले यस जिल्लामा पाँच हजार १०० मेट्रिकटन मात्र स्याउ फल्ने अनुमान गरिएको जानकारी दिए । यसपाली स्याउको फल कम लागेका कारण किसानलाई घाटा हुने भएकामा भएका स्याउ लिन पनि व्यापारी नआएपछि किसान दोहोरो मर्कामा परेका प्रमुख भण्डारीले बताए ।
जिल्लाको आधाभन्दा बढी क्षेत्रमा स्याउ फुल्ने समयमा तुषारो लागेपछि फल नलागेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालाकराम देवकोटाले बताए । उनले भने, ‘असिनाका कारणसमेत केही प्रभाव पार्यो, केही स्थानमा एक वर्ष फल्ने र अर्कोवर्ष नफल्ने भएपछि यस्तो समस्या आएको हो ।’ जुम्ली स्याउ भदौ दोस्रो सातापछि पूर्णरुपमा पाकेर बजारमा लैजान योग्य हुन्छ । परिस्थिति सहज नै भएको भए अब स्याउ किसानका बगैँचामा आएर किसानले खरिदको पक्का गर्ने बेला हो ।
५० प्रतिशत कम फल्यो जुम्लामा स्याउ
गत वर्ष १२ हजार मेट्रिकटन स्याउ फलेको जुम्लामा यस वर्ष ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ । स्याउबाटै समृद्ध बनेका जुम्लाका किसान यस वर्ष नफलेपछि चिन्तित छन् । वर्षभरि दुःख गर्दा पनि स्याउ नफल्दा सात जनाको परिवार कसरी पाल्ने भन्ने पिरलो हुन थालेको तिला गाउँपालिका– १ स्याउ किसान लंकबहादुर बुढाले बताए । स्याउ रोपिएको जमीनमा अन्न उत्पादन हुँदैन ।
‘यसपटक न किसानसँग स्याउ छ, न त खाने अन्न । असिना पानी, खडेरी र कालो तुषारोले स्याउ सखाप पारिदियो,’ स्याउ किसान रतिमान शाहीले बताए । यस वर्ष असिनापानी र कालो तुषारोले ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए । पाँच वर्षअघिदेखि स्याउको बीमा शुरु भए पनि जिल्लाभर एक हजार १४७ जनाको करिब ५० हजार स्याउ बिरुवाको बीमा गरेको शिखर बीमा कम्पनी जुम्लाका प्रमुख दिपदर्शन फडेराले बताए ।