सल्लीबजार : सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा,२ बामे जाने सडक भिरपाटिमा आएको पहिरोका कारण झण्डै एक महिना अवरुद्ध बन्यो । सडक अवरुद्ध हुँदा विरामी वसारपसारमा समस्या भयो । जिप र ठुला गाडी सञ्चालन हुन नसके पनि अत्यावश्यक सवारीसाधनको रुपमा त्यहाँ मोटरसाइकललाई लिन सकिन्छ । बामेमा नागरिक बिरामी पर्दा सडकको हिसाबले वाइकनै उत्तम विकल्पका रुपमा प्रयोग गर्ने गरिन्छ ।
मोटरसाइकलनै नचल्ने गरी सडकमा पहिरो आएपछि नगरपालिकालाई त्यहाँका स्थानीयले निकै गुहारे तर नगरको जेसिवि पहिरो पन्छाउने भनेर त्यहा पुगे पनि काम नगरि फर्केको स्थानीय शंकर वुढाथोकीले बताउनु भयो । एक महिनादेखि सडक अवरुद्ध भएको खबर नगरपालिकालाई भने पनि वास्ता नगरेको स्थानीयको गुनासो छ । जेसिवि सम्बन्धित क्षेत्रमा पुगे पनि ५० मिटर लामो पहिरो गएकोले पहिरो नहटाइ फर्केको थियोे । तर जेसिविले हटाउन नसकेको पहिरो स्थानीयले एक हप्ता भित्र सजिलोसँग निर्माण गरेर सडक सुचारु गरेको वुढाथोकीको भनाइ छ ।
वर्षाका कारण बामे सडकसँगै नगरका विभिन्न वडाहरुमा पुग्ने सडकहरु अवरुद्घ छन् । मुख्य सल्ली–रुकुम चौरजहारी सडक समेत एक हप्तादेखि अवरुद्ध छ । ठाउँ ठाउँमा गएको पहिरो पन्छाउने कुरामा आ–आफनो सिमानामा आवगमन सुचारु गर्नुपर्ने हो तर बनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकाले यो बारेमा कुनै वास्ता नदेखाएको स्थानीयको आरोप छ । सडक अवरुद्धसँगै स्थानीय पैदल हिड्न वाध्यछन् । नगरपालिका र गाउँपालिकामा करोडौं मुल्य खरिद गरेर किनेको जेसिवि छ तर आवश्यक पर्ने स्थानीय सडकहरुदेखि मुख्य सडक समेत अवरुद्ध छन् ।