एजेन्सी : भारतिय स्वतन्त्रता संग्रामका नायक एवं अहिंसात्मक आन्दोलनका हिमायती महात्मा गान्धीको चश्मा बिक्री भएको छ । गान्धीले प्रयोग गर्ने गरेको सम्भवतः पहिलो चश्मा लिलामीमार्फत बिक्री भएको हो । लिलामीमा राखिएको गान्धीको चश्मा एक अमेरिकी संकलकले भारू २ करोड ५५ लाखमा किनेका हुन् ।
लिलामी एजेन्सी इस्ट ब्रिस्टल अक्सनले आफूलाई सो चश्मा अगस्ट ३ मा एउटा सादा खाममा प्राप्त भएको जनाएको छ । एजेन्सीका एन्ड्रयू स्टोका अनुसार चश्माको लिलामीबाट १४ लाख बढी रकम प्राप्त गर्ने आशा राखिएको थियो । तर सोचेभन्दा बढी मोलमा उक्त चश्मा बिक्री भयो । उक्त एजेन्सीका मालिक म्यानगाट्सफिल्डले लिलामीबाट प्राप्त रकम आफ्नी छोरीसँग बाँड्ने बताएका छन् ।
बिबिसीका अनुसार गान्धीलाई उक्त चश्मा उनी दक्षिण अफ्रिकामा कार्यरत रहँदा उनका काकाले दिएका थिए । यसको अुनसन्धानबाट गान्धीले चश्मा लगाएको समय र अन्य प्रमाणका आधारमा यो गान्धीकै पहिलो चश्मा हुन सक्ने तथ्य पत्ता लागेको बताइएको छ ।
इस्ट ब्रिस्टल अक्सनका एन्ड्रयू स्टोले भने, ‘करिब ५० वर्षसम्म यो चश्मा यत्तिकै दराजमा थन्किएको थियो । यसलाई लिलाम गर्न चाहने मानिसले एक समय चश्माले आफूलाई कुनै फाइदा नभएकोले फ्याँकिदिन चाहेको बताएका थिए । तर अहिले यस्तो रकम पाए, जसले उनको जीवन बदल्नेछ ।’