काठमाडौं : नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका म्युजिक भिडियोमा संलग्न गायक र अन्य कलाकार सहितका व्यक्तिलाई २ वटा मुद्दामा कानूनी कारबाही अघि बढाइने भएको छ ।
म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाएको अभियोग लागेका उनीहरुलाई राज्यविरुद्धको कसूर र राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्न नहुने सम्बन्धी कसूरमा मुद्दा चल्ने भएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरि कानूनकी कारबाही अघि बढाएको छ ।
मुलुकी अपराध संहितामा भएको दुई कसूर अनुसार अनुसन्धान अघि बढाउन जिल्ला अदालत, काठमाडौंले ७ दिनको म्याद दिएको छ ।
प्रहरीले राष्ट्रिय झण्डामा क्षति पुर्याएको अभियोगमा गायक तथा मोडल मकवानपुरका ज्ञाल्जेन दोर्जे तामाङ भन्ने रोजितकुमार तितुङ, मोडल काभ्रेका लावाङ तामाङ भन्ने रोजित कुमार तितुङ, लावाङ तामाङ, प्रयास भन्ने चलाकमान तामाङ, भिडियो इडिटिङ गर्ने सञ्जय भन्ने हुतबहादुर तामाङ, कमलकुमार लामा तामाङ, गायक तथा मोडल १८ वर्षीय किशोर, भिडियोग्राफर सिन्धुपाल्चोकका सञ्जितकुमार घिसिङ र गायिका दोलखाकी अरुणा थामीलाई पक्राउ गरेको थियो ।
पक्राउ परेकामध्ये एक जना क्यामरा पर्सन संलग्नता नपाइएपछि छुटेका छन् । कानूनतः कसूर पुष्टि भए राज्यविरुद्धको कसूर पुष्टि भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ । दफा १५१ अनुसारको कसूर पुष्टि भए तीन वर्षसम्म कैद, तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुनसक्छ ।