हालै प्रकाशित एसईई को नतिजालाई लिएर राष्ट्रिय र स्थानीय संचार माध्यम ,सामाजिक संजाल लगायतका माध्यमहरुमा विभिन्न विश्लेषण र टीकाटिप्पणीहरु आइरहेका छन् ।
कतै एसईईको आन्तरिक मूल्यांकनमा सामुदायिकभन्दा निजी विद्यालयले विद्यार्थीलाई मनोमानी नम्बर थपेर राष्ट्रिय परीक्षा बोर्डमा पठाएको पाइएको कुरा समाचार बनेका छन् भने निजी विद्यालयले विद्यार्थीको अंक थपेर पठाएको भेटिएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरूले बताए भन्ने खवरहरु आउन थालेका छन् ।
कोरोना भाईरस (कोभिड ( १९) संक्रमण जोखिमका कारण विद्यालयकै आन्तरिक मूल्याँकनलाई राष्ट्रिय परीक्षा बोर्डबाट प्रमाणिकरण गर्ने विधि अनुसार बोर्डले सोमबार प्रमाणिकरण नतिजा सार्वजनिक गरेको थियो । कुन विद्यार्थीले कुन जिपिए पाए भन्ने विषयलाई गोप्य राखेर सार्वजनिक गरिएको उक्त प्रमाणिकरणको तथ्याङ्कले अर्कोतिर शिक्षक र विद्यालय प्रति अविश्वास बढाएको विश्लेषण गरिएको छ ।
इकाइ प्रमुखहरूलाई विद्यालयले पठाएको अंक बोर्डमा सिफारिस गर्ने जिम्मा दिइएको थियो ।
गतवर्ष ३ दशमलब ६ देखि ४ सम्म जिपिएको समूहमा ३ प्रतिशत मात्र विद्यार्थी थिए भने यो वर्ष त्यो समूहमा १७ प्रतिशत विद्यार्थी रहेका छन् । गत वर्ष तल्लो समूहमा ६० प्रतिशत विद्यार्थी थिए भने अहिले जम्मा १० प्रतिशत विद्यार्थी तल्लो समूहमा रहेका छन् ।
यस प्रकारको तथ्याङ्कले स्वभाविक रुपमा एसईई नतिजा माथि थुप्रै प्रश्न उब्जिएका छन् । आन्तरिक मूल्याङ्कनको आधारमा विद्यालयले नै मूल्याँकन गर्दा शिक्षकहरुले मनलाग्दी अङ्क दिएको आरोप शुरु भएको छ ।
यी कुराहरुलाई अतिरन्जित नगरी सामान्य रूपमा छ्लफलर बहसको विषयवस्तुको रूपमा लिन सकिन्छ कि भन्ने मेरो बुझाइ हो ।
यसका लागि निम्न कुराहरुमा ध्यान दिनु पर्छ :
१. विद्यालय तह, कक्षा १-९ सम्मको नतिजा विश्लेषण कार्य प्रायः गरिदैन, जुन कार्य पनि आवस्यक छ ।
२. आन्तरिक मुल्यांकनलाई नै एक मात्र आधार बनाएर एसईई को नतिजा प्रकाशित गरिएको सम्भवतः यो पहिलो अभ्यास भएकोेले यसका बारेमा विभिन्न टीकाटिप्पणीहरु आउनुलाई अत्यन्त स्वभाविक रूपमा लिनुपर्छ ।
३. कक्षा शिक्षण गर्ने सम्बन्धित विषय शिक्षकले नै विद्यार्थीहरुको उपलब्धिकोअन्तिम मुल्यांकन गरि नतिजा निकाल्ने कार्य सबैभन्दा बढी विश्वसनीय र बैध मानिन्छ , तर यसका लागि शिक्षक स्वयंले विद्यार्थी मुल्यांकन गर्दा आफुलाइ तटस्थताको कसिमा खरो उतार्न सक्नुपर्छ र निश्चित कसिमा राखेर विद्यार्थीहरुको सिकाइ उपलब्धि मापन गर्न सक्नु पर्दछ ।
४. सम्बन्धित विषय शिक्षकले विद्यार्थी मुल्यांकन गर्दा निश्चित मापदण्डमा आधारित र कसिमापन परिक्षा संचालन गरि विद्यार्थीको वास्तविक उपलब्धिका आधारमा नतिजा निकाल्नु पर्दछ । अन्यथा त्यो परिक्षाको विश्वसनीयता र बैधतामा प्रश्न उठाउनु स्वभाविक मानिन्छ ।
५. एसईई परिक्षाको नतिजालाई मात्रआधार बनाइ प्रायः धेरै विद्यालय (सामुदायिक र संस्थागत) हरुले आफ्नो बिद्यालयको शैक्षिक गुणस्तरको स्वयं मापन गरि व्याख्या गर्ने , कतिपय सन्दर्भमा विद्यालयको प्रतिष्ठासंग जोड्ने र प्रचारबाजि र बिज्ञापन समेत गर्ने गरेकोले हालैको एसईई परिक्षाको नतिजाप्रति धेरैले टीकाटिप्पणी गरेका हुनसक्छन् , जो नितान्त स्वभाविक पनि हो ।
६. हालैको एसईई परिक्षाको नतिजाका सम्बन्धमा आएका टीकाटिप्पणीका बारेमा कतिपय मित्रहरूले त्यसलाई सामान्य रूपमा लिइ छलफलयोग्य विषयबस्तु बनाउनुको साटो अन्यथा रूपमा लिइ अभद्र र असिष्ट शब्दहरुको प्रयोग गरि सामाजिक संजाल मार्फत तीतो ओकल्दै अमर्यादित व्यबहार प्रस्तुत नगर्नु नै बेस होला ।
७. हालैको एसईई परिक्षाको नतिजाका सन्दर्भमा विभिन्न माध्यमबाट आएका सकारात्मक र समिक्षात्मक टिप्पणीहरुलाइ आधार बनाएर संघीय, प्रदेश तथा स्थानीयस्तरमा सम्बन्धित सरकारी निकाय र सरोकारवाला निकायहरुले उचित बहस र छलफलको आयोजना गरि उपयुक्त निस्कर्श निकाल्न सकिन्छ । साथै यस्ता छलफलहरुबाट आन्तरिक मुल्यांकनको आवस्यकता , सान्दर्भिकता र औचित्यता समेत पुष्ठि गर्न सकिन्छ ।
८. हालैको एसईई परिक्षाको नतिजामा यदि विद्यार्थीको वास्तविक सिकाइ उपलब्धिकाको मापन निश्चित मापदण्डअनुसार गरि सोही आधारमा विद्यार्थीको स्तर निर्धारण गरिएको हो भने त्यो निकै सराहनीय कार्य हो , जो हामी सबैका लागि सुखद पक्ष पनि हो । अन्यथा प्रश्न आउनु स्वभाविक मान्नुपर्छ कि ?
९. आन्तरिक मुल्यांकन प्रणाली (सम्बन्धित विषय शिक्षकले नै आफ्ना विद्यार्थीको अन्तिम मुल्यांकन गरि नतिजा निकाल्ने बिधि) लाई बढी विश्वसनीय र बैध बनाउन सकियो भने यस्तो पद्धतिले मात्रै विद्यार्थीको सिकाइ उपलब्धिमा उच्च गुणस्तर कायम गर्न सकिन्छ भन्ने कुरामा दुईमत छैन । साथै यसलाई बाह्य मुल्यांकन पद्धतिको विकल्पको रुपमा अपनाउन सकिने मात्र होइन त्यसलाई बिस्थापित समेत गर्न सक्छ । यो शिक्षाको क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा अपनाइएको एउटा राम्रो अभ्यास पनि हो ।
१०. लेटर ग्रेडीङ सिस्टम लागू भए पश्चात बिगतका एसईई परिक्षाहरुको परिणामहरुमा ४ जिपिए प्राप्त गर्ने विद्यार्थी संख्याको वृद्धि अनुपात हेर्दा यस वर्षको ४ जिपिए प्राप्त गर्ने विद्यार्थी संख्या अस्वभाविक रूपमा वृद्धि भएको देखिएकोले पनि नतिजामा टिप्पणी हुनु स्वभाविकै मानिन्छ । किनभने विगतका वर्षहरुको मुल्यांकन प्रणाली र यस वर्षको मुल्यांकन प्रणाली फरक थियोे , यद्यपि यो विषम परिस्थितिमा गरिएको बाध्यात्मक मुल्यांकन थियोे ।
अत : एसईई (२०७६) को नतिजा र बिगतका वर्षहरुको नतिजाहरुलाइ माथिको तथ्यांकअनुसार अध्ययन गर्दा सकारात्मक एवम् समिक्षात्मक बहस तथा छलफल गर्नु बान्छनीय होला कि भन्ने सुझाव मात्र प्रस्तुत गर्ने प्रयास गरिएकोमा त्यसलाई अन्यथा रूपमा नबुझी दिनु हुन सम्पुर्ण प्राध्यापक र शिक्षक शिक्षाविद एवम् सरोकारवालाहरुलाई विनम्रतापुर्वक अनुरोध गर्द्छु ।
सबै सरोकारवालाहरुको थप रचनात्मक सल्लाह , सुझावको अपेक्षा सहित
धन्यवाद ।।
(लेखक टंकप्रसाद आचार्य उपप्राध्यापक तथा सुर्खेत क्याम्पस (शिक्षा) त्रिभुवन विश्वविद्यालयका पूर्व क्याम्पस प्रमुख हुन् ।)
समसामयिक सन्दर्भमा लेखिएको लेख तथ्य परक छ। अहिलेकाे एसईईकाे नतिजा खासै टिप्पणी गरिहाल्नु पर्ने जस्ताे लाग्दैन। त्याे विषम परिस्थितिमा विद्यार्थीको शैक्षिकसत्र खेर जानबाट बचाउन गरिएको प्रयास थियाे। यसलाई वैधता र विश्वसनीयताकाे कसीमा भन्दा वालबालिकामा पर्ने नकारात्मक मनाेवैज्ञानिक प्रभावकाे काेण बाट व्याख्या गर्नु पर्दछ। विद्यालयहरुले प्रदान गर्ने अङ्कका सन्दर्भमा केही टिप्पणी नगराैं किनकि गणित बाहेक अरु विषयहरुमा पठाईने अान्तरिक मूल्यांकनमा यसकाे प्रतिविम्वन पहिले देखिनै भै रहेकाे छ । यसलाई अति रञ्जित गर्ने हरुले बालमस्तिस्कमा पर्ने नकारात्मक प्रभावलाई बढावा दिने र उनिहरुमा हिनताबाेध सिर्जना गर्न मलजल गरिरहेकाे अाभास हुन्छ। यदि विश्वसनीयता र वैधता कै कुरा गर्ने हाे भने हामीले लिने सेमेष्टर प्रणालीको ४०% अान्तरिक मूल्यांकनमा पनि प्रश्न उठिरहने छ।