धनगढी : कोरोना संक्रमणका कारण सुदुरपश्चिमका विभिन्न जिल्लामा अढाई महिना यता १२ जनाको मुत्यु भएको छ । कैलाली र अछामका चाररचार तथा बाजुरा र बझाङका दुईरदुई जना संक्रमितको मृत्यु भएको हो।
त्यसमध्ये तीन जनाले भने आत्महत्या गरेका हुन्। दुई जनामा आत्महत्या गरेपछि कोरोना पुष्टि भएको हो भने एक जनाले कोरोना लागेपछि आत्महत्या गरेका हुन्।
सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसको संक्रमणबाट पहिलो मृत्यु जेठ १८ गते भएको थियो। बाजुराकी दुई वर्षीया बालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। उनको मृत्युपछि कोरोना पुष्टि भएको थियो। आमाबुवासँग भारतको नयाँदिल्लीबाट आएकी दुई बर्षीया बालिकामा ज्वरो आएपछि श्वासप्रश्वासमा सममस्या थियो। उनको मृत्युपछि उनकी आमामा समेत संक्रमण देखिएको थियो।
जेठ २४ गते कोरोना भाईरसले सुदूरपश्चिममा दोस्रो मृत्यु भयो। धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की ५५ वर्षीया महिलाको मृत्यु भएको थियो। उनमा पनि मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो। मिर्गौलाकी बिरामी उनको सेती प्रादेशिक अस्पतालमा डायलासिस वार्डमा मृत्यु भएको थियो भने अन्तिम संस्कार गरेपछि मात्रै कोरोना रिपोर्ट आएको थियो।
असार ३ मा कोरोना भाईरसको संक्रमणले कैलालीमा दोस्रो र सुदूरपश्चिममा तेस्रो मृत्यु भयो। कैलालीको लम्कीचुवा नगरपालिका वडा नम्वर २ की ४३ वर्षीया महिलाको कोरोना भाईरसका कारण मृत्यु भएको थियो। उनलाई न्यूरोसम्बन्धी समस्या देखिएपछि नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको थियो। शल्यक्रिया गर्नुअघि उनको कोरोना परीक्षणका लागि स्वाब पठाइएकोमा मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो।
सोही दिन कैलालीका थप एक जनाको कोरोना भाईरसका कारण मृत्यु भयो। जिल्लाको गोदावारी नगरपालिकाका ४६ वर्षीय पुरुषको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार क्रममा मृत्यु भएको थियो। उनमा भने मृत्युअघि नै कोरोना पुष्टि भएको थियो। धनगढीको नवजिवन अस्पतालमा भर्ना हुँदा उनमा संक्रमण पुष्टि भएको थियो भने त्यसपछि मात्रै उनलाई सेती अस्पतालमा लगिएको थियो। उनी बस व्यवसायी थिए।
असार १३ गते कैलालीकै थप एक जनाको कोरोना भाईरसका कारण मृत्यु भयो। क्यान्सर पीडित कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरूषको चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको थियो। मृतक फोक्साको क्यान्सरको उपचार गराइरहेका थिए भने मृत्युअघि नै कोरोना पुष्टि भएको थियो।
असार १६ गते कोरोना भाईरसको संक्रमणबाट अछाममा पहिलो मृत्यु भयो। चार दिन क्वारेन्टिन बसेर घर फर्किएको एक हप्तापछि अछाम, रामारोशन गाउँपालिका वडा नम्बर ५ निवासी ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो। उनको पनि मृत्युपछि मात्र कोरोना पुष्टि भएको हो। बयालपाटा अस्पतालमा उपचार क्रममा उनको मृत्यु भएको थियो। मृतक भारतबाट आएका थिए।
साउन १३ गते कोरोनाले बझाङमा पहिलो मृत्यु भयो। बझाङ बुंगल गाउँपालिका निवासी ६५ वर्षीय पुरुषको मृत्युपछि कोरोना पुष्टि भएको थियो। उनको साउन ९ गते नै घरमा मृत्यु भएको थियो भने त्यसपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।
साउन २५ गते अछामको चौरपाटीका ५० वर्षीय पुरूषको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भयो। मृत्यु हुनुभन्दा पहिले नै उनको स्वाब संकलन गरे पनि मृत्युको दुई दिनपछि मात्रै उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।
साउन २९ गते अछामका थप एक जनाको कोरोना भाईरसका कारण मृत्यु भयो। रामारोशन गाउँपालिका वडा नम्वर ५ का १८ वर्षीय पुरुषको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो। उनी मुटुरोगबाट ग्रसित थिए।
दिनेश खवर