वीरेन्द्रगर : कर्णाली प्रदेस सरकारले भदौ १ गतेदेखि कर्णाली प्रवेश गर्न कोरोना संक्रमण भए-नभएको पिसिआर रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा प्रदेश विपत व्यवस्थापन समितिको बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले भारतबाट आउने नेपाली नागरिकहरुलाई अनिवार्य रुपमा सीमा नाकाको क्वारेन्टिनमा राख्ने तथा क्वारेन्टिनको क्षमता भन्दा बढी राख्नु पर्ने अवस्था भएमा मध्यपश्चिम विश्वविद्यालयको भवनलाई पनि प्रयोग गर्ने वैकल्पिक व्यवस्था मिलाउने सम्बन्धमा सामाजिक विकास मन्त्रालयले समन्वय गरी आवश्यक कार्य गर्ने गराउने निर्णय गरेको छ ।
कम्तीमा ३ दिन अघिको पिसिआर रिपोर्ट पेश गर्नुपर्ने र सीमामैं क्वारेन्टिनको व्यवस्था गरिने बैठकको निर्णयमा उल्लेख छ । रातको समयमा भने कर्णाली प्रदेश पुर्ण रुपमा बन्द गरिने समेत बैठकले निर्णय गरेको छ ।
सामाजिक विकास मन्त्रालयकै समन्वयमा स्थानीय तहमा एक पालिका एक क्वारेन्टिन निर्माण र विभिन्न स्थानमा जनचेतामूलक होर्डिगं बोर्ड लगायतका सामग्री प्रयोग गर्ने निर्णय गरिएको छ । कुनै एक जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्दा कर्मचारीको समेत अनिवार्य पिसिआर रिर्पोट पेश गर्नु पर्ने निर्णय बैठकले गरेको छ ।
समुदाय स्तरमा मास्कको अनिवार्य रुपले प्रयोग गर्ने गराउने र प्रयोग नगर्नेलाई कडा कारबाही गरिने समेत उल्लेख छ भने यस प्रदेशमा आयोजना गरिने कुनैपनि मेला, पर्व वा जात्रा र नाचगान नगराउने । कुनै महत्वपूर्ण र अत्यावश्यक ठानिएका बैठक, सेमिनार वा गोष्ठिका विषयमा बढिमा १५ जनाले भौतिक दुरी कायम गरी गर्न सकिने उल्लेख छ ।
भदौ १ देखि सुर्खेतमा निषेधाज्ञा
यसैवीच जिल्ला प्रशासन कार्यालय सुर्खेतले आगामी भदौ १ गतेदेखि वीरेन्द्रनगरमा पनि निषेधाज्ञा गर्ने भएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको आज बसेको बैठकले आगामी भदौ १ गतेदेखि भदौ ५ गते राती १२ बजेसम्म निधेषाज्ञा गर्ने निर्णय गरेको हो ।
सुर्खेतमा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढ्न थालेपछि तत्काल वीरेन्द्रनगरमा निषेषाज्ञा लागु गर्ने निर्णय गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । निश्चित समयसम्म मात्रै निषेधाज्ञा लागु गर्न लागिएकाले अत्यावश्यक र निर्माण योजनाहरु बाहेक अन्यमा क्षेत्र पूर्ण रुपमा बन्द गरिने रेग्मीको भनाई छ ।
वीरेन्द्रनगर बजार क्षेत्रमा स्वास्थ्य मापदण्ड नअपनाएर पसल सञ्चालन गर्ने, भीडभाड धेरै गर्ने, पर्वहरुमा नाचगान र दर खान जाने प्रवृत्ती बढेकाले निषेधाज्ञा गर्नु परेको रेग्मीले उल्लेख गरे । ‘निषेधाज्ञाको क्रममा समस्यामा परेका व्यक्तिहरुलाई राहत तथा उद्धार गर्न अनुगमन समिति बनाएर परिचालन पनि गर्छौं’ प्रजिअ रेग्मीले भने, ‘समितिले सम्वन्धित ठाउँको आवश्यकताअनुसार त्यस्ता व्यक्तिहरुका मागलाई सम्बोधन गर्नेछ तर विगतको जस्तो मनमौजी गर्नेलाई कुनै छुट दिने छैनौं ।’
कोरोनाको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतसहित सेवाग्राहीको भीड हुने कार्यालयहरुमा यहीँ साउन २५ गतेबाट अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिसकेको छ । वीरेन्द्रनगर नगरपालिकाले पनि साउन ३० गतेदेखि भदौ ५ गतेसम्म नगरपालिका, सबै वडा कार्यालय र बन्द हुने प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए ।