काठमाण्डौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गुटबन्दी उत्कर्षमा छ । पछिल्लो परिस्थिती अनुरुप नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्थायी कमिटीको बैठकमा सहभागी नहुने भएका छन् ।
आफ्नो अनुपस्थितिमा हुने बैठकले वैधानिकता पनि नपाउने ओलीको तर्क छ । ओलीले केन्द्रीय कमिटीको बैठक माग गर्नेहरुलाई पनि निराश बनाइदिएका छन् ।
गत असार १० गतेदेखि बालुवाटारमा सुरु भएको स्थायी कमिटीको बैठक एजेन्डामा प्रवेश गर्न सकेको छैन । बैठक स्थगित भएको छैन, तर, अघि बढ्न पनि सकेको छैन । अब अध्यक्ष ओलीले स्थायी कमिटी बैठक बहिष्कार गर्ने जनाउ दिएका छन् ।
आफ्नै निवासमा आयोजित बैठकमा समेत सहभागी नहुने अध्यक्ष ओलीको अडानकै कारण स्थायी कमिटीको बैठक कोपभाजनमा परेको छ । आफ्नो अनुपस्थितिमा हुने बैठकलाई मान्यता नै नदिने ओलीको अडान छ ।
यहीबीचमा १५२ जना केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गर्दै नेतृत्वलाई हस्ताक्षर बुझाइसकेका छन् । तर, ओलीले केन्द्रीय कमिटीको बैठक पनि बस्न आवश्यक नरहेको भन्दै अस्वीकार गरेका छन् ।
पार्टीका औपचारिक बैठकहरुलाई अस्वीकार गरेर प्रधानमन्त्री ओलीले एकलौटी ढंगबाट अघि बढ्ने सोचाइ बनाएको बहुमत पक्षका नेताहरु बताउँछन् । बैठकले कोभिड १९ रोकथाम लगायतका विषयमा सरकारका कामहरुको समीक्षा गर्ने एजेन्डा बनाएको थियो, तर त्यो एजेन्डामा छलफल हुन सकेको छैन । देशमा कोरोनाको जोखिम चाहिँ बढेको बढ्यै छ ।