जाजरकोट : विषालु च्याउ खाँदा जाजरकोटका थप एक जनाको मृत्यु भएको छ। कुशे गाउँपालिका–१ स्याक्रीका २३ वर्षीय ललित चलाउनेको शुक्रवार विहान कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
उनीसहित विषालु च्याउ खाँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ। मृत्यु भएका सबै एकै घरका हुन्। यसअघि मंगलबार ३ जनाको प्रदेश अस्पतलमै उपचारका क्रममा मृत्यु भएको थियो। एक जनाको भने जाजरकोटस्थित घरमै मृत्यु भएको थियो।
साउन ९ गते जंगलबाट ल्याएको विषालु च्याउको तरकारी खाँदा टेकबहादुर चलाउनेसहित परिवारका ८ जना बिरामी परेका थिए। तीमध्ये टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरूताको उपचारको क्रममा मंगलबार मृत्यु भएको कर्णाली प्रदेश अस्पतालले जनाएको छ ।
टेकबहादुरकी ३ वर्षीया छोरी अञ्जनाको सोमबार गाउँमै मृत्यु भएको थियो। विषालु च्याउ खाँदा बिरामी परेका थप ७ जनालाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको थियो।
टेकबहादुर चलाउने, उनकी ३० वर्षीया बुहारी कल्पना र छोरी पशुपति चलाउनेको उपचार भइरहेको अस्पतालले जनाएको छ।