काठमाण्डौं : कोरोना संक्रमणका कारण पर्साको जितपुरस्थित जगदम्बा इन्टरप्राइजेजका सीईओको मृत्यु भएको छ।
वीरगन्जको गण्डक कोरोना विशेष अस्पतालमा उपचारका क्रममा बिहीबार राति उनको निधन भएको हो ।
भारत घर भई हाल वीरगन्जको श्रीपुर बस्दै आएका जगदम्बाका सीईओ ५६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। उनी मुटु रोगी थिए। केही समयअघि मात्र उनका मुटुको बाइपास सर्जरी गरिएको थियो।
उनी केहीअघि मात्रै भारतबाट फर्केका थिए। उनलाई कोरोना पुष्टि भएपछि जगदम्बा इन्टरप्राइजेज पनि शिल गरिएको थियो।
गत साउन ६ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई भोलिपल्ट गण्डक अस्पतालमा भर्ना गरिएको थियो। करिब ७ सातादेखि उनलाई आईसीयूमा राखिएको थियो।
अवस्था गम्भीर भएपछि बिहीबार दिउँसो उनलाई भेन्टिलेटरमा राखिएको थियो। राति ११ बजे निधन भएको चिकित्सकहरुले बताएका छन्।
योसँगै बिहीबारमात्रै वीरगन्जमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। यसअघि बिहीबार नै ३५ वर्षीय र ६५ वर्षीया पुरुषको मृत्यु भएको थियो। साउनयता भने पर्सामा कोरोनाबाट नौजनाको ज्यान गइसकेको छ।