सुर्खेत : दुधवंशी कृषी फर्म सञ्चालन गरेका धुलियाविटका उद्योगी एवं द्योग वाणिज्य सङ्घ सुर्खेतको वाणिज्य उपाध्यक्ष दीपक ढकाल अहिले आफ्नो खेतमा लगाइएको चैते धान भित्र्याउन ब्यस्त छन् । उद्योग व्यवसायमा हात हालेका उनी कृषीतिर पनि आर्कषित भएका छन् ।
३२ बर्ष पछि सुर्खेत उपत्यकामा चैते धान लगाएर उनी त्यसको सफलता हात पारेको बताउँछन् । १ बिगाह खेतमा ३ कट्ठा जतिमा माछा पालन लगायत अन्य कृषी उपज उत्पादन र बाँकी १७ कट्ठा जमिनमा उनले यो बर्ष चैते धान लगाए ।
करिव १२० दिनमा विशेषगरी सुक्खायाममा पाक्ने हर्दिनाथ–३ जातको चैतेधान उनले महोत्तरीको जलेश्वरबाट ल्याएका थिए । उनले लगाएको चैते धानले कर्णालीका युवालाई आधुनिक कृषीमा आर्कषण र चुनौती दुवै दिएको छ ।
सँधै भोक र खाद्यान्न अभावका समाचार लेख्ने पत्रकार र कर्णाली प्रदेशको भूमी व्यवस्था, कृषी तथा सहकारी मन्त्रालयलाई उनको प्रश्न छ, ‘शुरुवात आँफुबाटै गर्नुपर्छ, मन्त्रालयले पाठ सिकोस् । कर्णालीलाई उत्पादन हुने धान त सुर्खेतकै फाँटमा फल्छ । अनि किन भाषण मात्रै?” कर्णालीलाई आत्मनिर्भर बनाउन अर्गानिक उत्पादनमा जोड दिनुपर्ने र युवाहरु नै लाग्नुपर्नेमा ढकालले जोड दिए ।
उनको व्यवसाय हेर्न पुगेका एअरपोर्टका युवा मिलन सुवेदी र ढकालका छिमेकीले पनि अर्को बर्ष खेतमा चैते धान लगाउने बताए । ३२ बर्ष अघि सम्म सुर्खेतमा यो जातको धान लगाउने चलन थियो । अहिले सुर्खेतमा अव्यवस्थित बसोबास र खेतीयोग्य जमिन प्लटिंग गर्नाले सुर्खेतको सुन्दरता संगै कृषी उत्पादन पनि हराउँदै गएको छ भने यसलाई रोक्न जिम्मेवार निकायले सकेको छैन ।
तस्विरहरु : होष्ट खवर डटकम