काठमाडौं : सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय छुट विषयमा सर्वोच्च अदालतको फैसला पछि महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकनमाथि आजै सुनुवाइ हुँदैछ ।
पूर्व डिआईजी कोइरालाको मुद्दा सर्वोच्चका तीन न्यायाधीशको बेन्चमा परेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको बेन्चमा कोइरालाको मुद्दा परेको हो ।
तीन न्यायाधीशको बेच्नले निवेदनमाथि अध्ययन गरी पुनरावलोकन हुने वा नहुनेबारे आदेश गर्नेछ । यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले पूर्वडीआईजी कोइरालाको मुद्दाको सजाय कटौती गर्ने निर्णय गरेसँगै चौतर्फी विरोध भएको थियो ।
पत्नी गीताको हत्या गरेका कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । तर, सर्वोच्चले सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेसँगै कोइराला रिहा भएपछि देशव्यापी विरोध भएको हो ।
यही फैसलाका कारण प्रधानन्यायाधीशको राजीनामादेखि महाभियोग लगाउनेसम्मको माग भइरहेको छ ।