काठमाण्डौं : आफ्नै श्रमती गीता ढकालको हत्या गर्ने सशस्त्रका पूर्वडिआईजी रञ्जन कोइरालाको सजाय कम गरेर जेल मुक्त गरेको सन्दर्भमा पुर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले देशको बर्तमान संकट समाधान गर्न भन्दै ५ वटा प्रस्ताव अघि सारेका छन् ।
नेता डा. बाबुराम भट्टराईले देशमा बढिरहेको संकटबाट मुक्तिका लागि वर्तमान प्रधानमन्त्री केपी ओलीलाई हटाउने र न्यायाधीशमाथि महाअभियोगको प्रस्ताव लगायतका ५ वटा प्रस्ताव अघि सारेका हुन् ।
नेता भट्टराईले शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै संसद अधिवेसन बोलाउने र केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गर्न प्रस्ताव गरेका छन् । उनले अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन पनि माग गरेका छन् । ‘देश गम्भीर संकटतिर जाँदैछ । लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं,’ भट्टराईले सारेका पाँच प्रस्तावमा भनिएको छ, ‘१. संसद अधिवेशन बोलाऊँ । २. केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं । ३. अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ । ४. भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गरौं । ५. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ ।’