सुर्खेत : साउन महिनाको पहिलो सोमबार (आज साउन ५ गते) भवगान शिवको विशेष पूजा आराधना गरी शिवभक्तहरुले वर्त बसेर मनाउँदै छन् ।
यो वर्ष कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले लागु गरेको लकडान केही खुकुलो भए पनि मठ मन्दिर बन्द नै रहेकाले दर्शनार्थी शिवालयहरुमा निकै कम गएका छन् ।
तर बिहानैदेखि चोखो भएर शिवको विशेष आराधना भने भइरहेको छ । साउन महिनाको सोमबारलाई शिव भगवानको व्रत बस्नका लागि सर्वोत्तम दिन मानिन्छ ।
सूर्य मिथुन राशीबाट कर्कट राशीमा प्रवेश गरेर दक्षिणायन सुरु भएको महिना साउन भगवान शिवको प्रिय महिना मानिन्छ । भगवान शिवले सूर्य र चन्द्र दुवैलाई धारण गर्नु भएकाले चन्द्रशेखर पनि भनिन्छ । चन्द्रशेखर भगवान शिवका हजार नाममध्ये एक हो ।
भगवान शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको छ । यसो गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । तर यो वर्ष अधिकांश व्रतालूले घरमै बसेर आराधना गर्ने छन् ।
साउने सोमबारको व्रत दाम्पत्य जीवन, पारिवारिक एवं सन्तान र परिवारको कल्याण तथा सुख शान्तिका लागि पुरुष महिला दुवैले गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।
मानव शरीर पृथ्वी, जल, तेज, वायु र आकाश गरी पञ्चत्वले बनेको छ । यसमध्येमा पृथ्वी तत्व शरीरमा धेरै हुन्छ । यसैले पृथ्वीमा हरियाली छाएका बेला मानिसले पनि हरियो पहिरन लगाएर साउने सोमबार मनाउने गर्छन् । यसो गरेमा प्रकृतिसँगको तादात्म्यता प्राप्त हुने धार्मिक विश्वाससमेत छ ।
यो वर्षको पहिलो साउने सोमबार औँसी पनि परेकाले थप विशेष महत्व छ । दर्शनको व्यवस्था नभए पनि नित्यसँगै औँसीको विशेष पूजा मन्दिरका भट्टहरुले गर्ने कोषले जनाएको छ ।
सुर्खेतको वीरेन्द्रनगर ९ लाटिकोइलीमा रहेको शिव मन्दिर, खजुरामा रहेको शिव मन्दिर लगायतका विभिन्न मन्दिरहरुमा भगवान शिवको पुजा अर्चनामा तल्लिन दर्शनार्थी एवं भक्तजनरु ।
तस्विर : बषन्त खड्का /होष्ट खवर