सुर्खेत : प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या ठोरीमा पर्ने उद्घोष गरेपछि ठोरी अहिले चर्चामा छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिका कारण पछिल्लो समय निक्कै चर्चामा रहेको पर्साको ठोरीस्थित नेपाल–भारत सीमा क्षेत्रको स्तम्भ उखेलेर फ्यालिएको छ ।
धार्मिक तीर्थस्थल सीता गुफादेखि दक्षिणतर्फ सोमेश्वर पहाडमा रहेको ४३६ नम्बरको पिलर उलेखेर फ्यालिएको अवस्थामा फेला परेको स्थानीयले बताए ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट ठोरीका प्रहरी निरीक्षक दीपक दाहालले शनिबार दिउँसो १२ बजेसम्म सुरक्षित रहेको सीमा स्तम्भ त्यसपछि उखेलिएको बताए ।
भारतीय सीमा सुरक्षाबल (एसएसबी) का इन्सपेक्टरसमेत सो क्षेत्रमा देखिएका थिए ।
ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले स्थानीय बासिन्दाले बिहान पूजापाठ गर्दासम्म नेपाल–भारत सीमामा अवस्थित सीमा स्तम्भ देखिएको तर अपरान्ह एकाएक नदेखेपछि खोजी गर्ने क्रममा उखेलेर फ्यालिएको अवस्थामा पाइएको बताए ।
उनले अयोध्या भूमिको रुपमा एकाएक चुलिएको चर्चालाई मत्थर पार्न सीमा स्तम्भ उखेल्ने काम भएको हुन सक्ने बताए ।
गहिरो खाल्डो बनाएर नगाडिएका कारण स्तम्भ उलेख्न सजिलो भएको सुरक्षा निकायको बुुझाई छ । फ्यालिएको स्तम्भ गाडिएको स्थानभन्दा केही पर भेटिएको सशस्त्र प्रनि दाहालले बताए ।
सीमा स्तम्भ कसले र किन उखेलेर फाल्यो भन्ने विषयमा केही खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको दाहालले जानकारी दिए । माथिल्लो निकायमा घटनाका बारेमा सशस्त्र प्रहरीले जानकारी गराइसकेको छ ।
प्रधानमन्त्री ओलीले भगवान रामको जन्म ठोरीमा भएको अभिव्यक्ति दिएसँगै सो क्षेत्रमा मानिसहरुको चहलपहल बढ्दै गएको छ ।
शनिबार गाउँपालिकाको आयोजनामा कलश यात्रा अयोजना गर्दै भव्य पूजाआज गरिएको थियो । त्यसपछि पिलर उखेलिएको हो ।
सीमा स्तम्भ एकाएक उखेलिएपछि ठोरीका बासिन्दा चिन्तित बनेका छन् । उनीहरुले यसलाई गम्भीर षडयन्त्रको रुपमा लिएका छन् ।
ठोरीका स्थानीय समेत रहेका जिल्ला समन्वय समिति पर्साका उपप्रमुख ठाकुर न्यौपानेले सीमा स्तम्भ विवाद खडा गरेर अहिलेको माहोललाई अन्त मोड्न खोजिएको हुन सक्ने बताए ।
स्तम्भ सहजै उखेल्न सक्ने अवस्थाको फाइदा उठाएर घटना गरिएको उनको भनाइ छ ।
भगवान राम जन्मेको भनिएको अयोध्या भूमि ठोरीबारे खोज तथा अनुसन्धान हुनुपर्ने चौतर्फी दवाब भइरहेको समयमा सो कामलाई प्रभावित पार्ने तत्वहरुले यो काम गरेको हुने सक्ने न्यौपानेले बताए ।
अयोध्या भूमिबारे थुप्रै प्रमाणहरु भेटिन थालेपछि भारतीय पक्षले अत्तालिएर सीमा स्तम्भ उखेलेर विवाद सिर्जना गर्न खोजेको ठोरीका नागरिक समाजका अगुवा सन्तोष श्रेष्ठले बताए ।