भद्रपुर : मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशी खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ।
गत आर्थिक वर्ष २०७६/७७ मा कनकाई नगरसभाले नगरपालिकाको प्रमुख चढ्नका लागि ६० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो। तर नगरप्रमुख राजेन्द्र पोखरेलले लाखौँ खर्चेर आफ्ना लागि सवारीसाधन खरिद गर्ने प्रस्ताव अस्वीकार गरे।
“बजेटमा रकम छुट्याइएको थियो, प्रमुखले सवारीसाधन किन्न मान्नुभएन,” कनकाईकी उपप्रमुख मञ्जु प्रसाईले भनिन्, “त्यसपछि गाडी किन्ने बजेट प्राविधिक शिक्षालय स्थापनामा खर्च गरियो।”
नगरलाई शैक्षिक हब बनाउने र रोजगारीमूलक शिक्षा प्रदान गर्ने योजनाअनुरूप नगरप्रमुख पोखरेलले नै इञ्जिनियरिङ विषयको पढाइ हुने कलेज खोल्ने प्रस्ताव अघि बढाए। अहिले त्यही सवारीसाधन खरिद किन्ने भनिएको बजेटबाटै शुरू भएको कनकाई पोलिटेक्निक इन्स्टिच्युट सञ्चालनमा छ। नगरपालिकाले गाडी खरिदका लागि विनियोजन भइसकेको ६० लाख रूपैयाँमध्ये ३० लाख रूपैयाँ रकम कनकाई पोलिटेक्निक इन्स्टिच्युट स्थापनाका लागि लगानी गरिएको र अरू रकम साइकल लेन र पुल निर्माणमा छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत रूद्र न्यौपानेले जानकारी दिए।
कनकाई-७ दुर्गापुरमा सञ्चालित कनकाई पोलिटेक्निक इन्स्टिच्युटमा पहिलो ब्याचमा ४६ जना विद्यार्थी भर्ना भएका थिए। त्यहाँ सिटीइभिटीअन्तर्गत तीन वर्षे डिप्लोमा तहको सिभिल इञ्जिनियरिङ, जियोमेटिक्स इञ्जिनियरिङ र इन्फरमेसन टेक्नोलोजीको पठनपाठन हुँदै आएको छ।
सो इन्स्टिच्युटलाई नगरपालिकाको सहयोग र विश्वविद्यालयको सम्बन्धनमा सामुदायिक साझेदारीमा आधारित इञ्जिनियरिङ कलेजको रूपमा विस्तार गर्ने योजना रहेको नगरप्रमुख पोखरेलले बताए। नयाँ आर्थिक वर्ष २०७७र७८ मासमेत कनकाई नगरपालिकाले सो इन्स्टिच्युटका लागि ३० लाख रूपैयाँ बजेट विनियोजन गरिसकेको छ।
नगरप्रमुख पोखरेलका अनुसार नगरको वडा नं ५ मा इञ्जिनियरिङ कलेजका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न १६ विगाहा जग्गा लिजमा लिने काम भइसकेको छ।
यो परियोजनालाई नगरको गौरव आयोजनामा समेटिएको छ। यहाँ अध्ययन गर्ने स्थानीय विद्यार्थीलाई नगरपालिकाले नगरभित्रै रोजगारी दिलाउने सोचसमेत बनाएको छ। ‘कमाइका लागि शिक्षा’ कार्यक्रमअन्तर्गत प्राविधिक विद्यार्थीलाई निर्माणाधीन परियोजनामा पारिश्रमिक दिएर काम गराउँदै सिकाउने नयाँ कार्यक्रम अघि बढाइएको नगरपालिकाले जनाएको छ। रासस