काठमाण्डौं : निजी क्षेत्रका कम्पनीहरूसँगै बिहीबारदेखि साझा यातायातका बस समेत उपत्यकामा चल्न सुरू गरेपछि अधिकांश यातायात व्यवसायीहरु दबाबमा परेका छन् ।
देशका प्रमुख शहर तथा नगरमा केही निजी कम्पनीहरुले बस चलाउन शुरु गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रतिनिधि दवावमा परेका हुन् ।
ती व्यवसायीहरुले बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेका छन्। उनीहरुले यातायात क्षेत्रमा देखिएको विद्यमान समस्या समाधान गरिदिन प्रधानमन्त्री ओली समक्ष आग्रह गरेका छन्।
कोरोना भाइरसको संक्रमण फैलन रोक्न सरकारले करिब चार महिनादेखि लकडाउन जारी राख्दा सार्वजनिक यातायात ठप्प थियो। यसै साताबाट सरकारले सुरक्षा सतर्कताका उपाय गरेर यातायात व्यवसायीलाई छोटो दुरीका सवारी चलाउन भनिसकेको छ।
प्रधानमन्त्री ओलीसँगको सार्वजनिक यातायात सुरक्षित तवरले सञ्चालन गर्ने विषयमा छलफल भएको र आफ्ना माग राखेको व्यवसायीहरुले बताए। बैँक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नवीकरणलाई सहज बनाइदिनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था, क्षतिपूर्तिसहितको कोरोना बीमा हुनुपर्ने र मजदुरलाई स्वास्थ्य सामाग्री तथा पिपिईको व्यवस्था मिलाउन माग गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए।
भेटमा प्रधानमन्त्री ओलीले यातायात क्षेत्रको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताएका थिए। साथै उनले समस्या समाधानको सहजीकरणका लागि सरोकारवाला निकायलाई निर्देशन दिने आश्वासन दिएका थिए।
टोलीले बुधबार कांग्रेसका सभापति शेरबहादुर देउवा र बिहीबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटेको थियो।