वीरेन्द्रनगर :सुर्खेतका १४ जना सहित मंगलबार कर्णालीका २७ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा सुर्खेतका १४ सहित जुम्ला, जाजरकोट र काठमाण्डौंका १ १ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा ४ जना र दैलेख अस्पतालमा गरिएको परिक्षणमा ६ जनामा कोरोना देखिएको हो ।
यो संगै कर्णालीमा कोरोना संक्रमण हुनेको संख्या १ हजार ६ सय ९० जना पुगेको छ । त्यस्तै, आजै कर्णालीका विभिन्न अस्पताल र आइशोलेसन सेन्टरबाट कोरोना संक्रमण मुक्त भई ७ जना डिस्चार्ज भएका छन् ।
प्रदेश अस्पताल सुर्खेतबाट ३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १, डोल्पा अस्पतालबाट २, गुँरास आइशोलेसन सेन्टरबाट १ जना कोरोना मुक्त भई डिस्चार्ज भएका हुन् ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाका अनुसार अव कर्णालीमा २ सय २२ जना सक्रिय विरामी रहेका छन् । जसमध्य सुर्खेतमा ९१ जना (प्रदेश अस्पताल सुर्खेतमा २८, वीरेन्द्रनगर आइशोलेसनमा २४, लेकबेसीमा २, गुर्भाकोटमा ७ र सिम्ता आइशोलेसनमा ३०), दैलेखमा ३२, जाजरकोटमा ५, सल्यानमा १७ र डोल्पामा ३ जना विरामी रहेको महाशाखाले जनाएको छ । कर्णालीमा कोरोनाका कारण ६ जनाको मृत्यु भइसकेको छ ।