काठमाण्डौं : कर्णाली प्रदेशको डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना शुरु गर्न लागेको जगदुल्ला आयोजनाले सोही क्षेत्रमा अर्को परियोजना पनि सञ्चालन गर्ने जनाएको छ ।
१०६ मेगावाट क्षमतामा निर्माणको तयारी भइरहेको जगदुल्ला जलविद्युत आयोजनाले ८२ मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत आयोजना पनि निर्माणको तयारी गरेको छ।
कर्णाली प्रदेशको डोल्पामा निर्माण हुन लागेको जगदुल्ला अर्धजलाशययुक्त आयोजना हो। आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सार्वजनिक गरेर सरोकारवालाहरुको राय संकलन पनि गरिसकिएको जगदुल्लाका आयोजना प्रमुख सञ्जय सापकोटाले बताए।
साउन पहिलो हप्ताभित्र आयोजना प्रभावित सबैलाई मुआब्जा वितरण सकेर सरोकारवालाको रायसहित साउनभित्रै आयोजनाको डीपीआरलाई पनि अन्तिम रुप दिने तयारी भइरहेको उनको भनाइ छ।
अर्धजालशययुक्त आयोजना भएकाले तुलनात्मक रुपमा यसको लागत केहि बढी थियो। करिब २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको प्रतिमेगावाट लागत २१ करोड रुपैयाँ छ।
क्यासकेड आयोजनाको रुपमा जगदुल्ला ए पनि निर्माण गर्दा अर्धजालाशयको लागत पनि घट्ने र दुवै आयोजनालाई आकर्षक आयोजना बनाउन सकिने भएकाले कम्पनीले सर्वेक्षण अनुमतिका लागि विभागमा निवेदन दिएको सापकोटाले जानकारी दिए।
विभागले अनुमति दिएमा अर्धजलाशययुक्त जगदुल्लाको निर्माण र नदी प्रवाहमा आधारित क्यासकेड आयोजनाको अध्ययन एकैपटक अघि बढाउने कम्पनीको तयारी छ।
विद्युत उत्पादन कम्पनीअन्तर्गत बनेको जगदुल्ला जलविद्युत कम्पनीमा अतिविपन्न परिवारलाई दुई प्रतिशत सेयर सुरक्षित गरिएको छ। आयोजनामा सर्वसाधारणका लागि १७ प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १० प्रतिशत सेयर दिने बताइएको छ।
विद्युत उत्पादन कम्पनीमा ऊर्जा मन्त्रालयको २० प्रतिशत सेयर रहेको छ। त्यसैगरी नेपाल विद्युत प्राधिकरण, कर्मचारी ससञ्चयकोष र दूरसञ्चार कम्पनीको १०र१० प्रतिशत सेयर छ। अर्थ मन्त्रालय, कानून मन्त्रालय र नागरिक लगानी कोषको ५र५ प्रतिशत, जलविद्युत लगानी तथा विकास कम्पनीको चार प्रतिशत र राष्ट्रिय बीमा संस्थानको दुई प्रतिशत प्रवर्द्धक सेयर रहेको छ। विजमाण्डु डटकमबाट साभार