सुर्खेत : नेपाल लगायत विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस) तथा अन्य सरुवा रोगहरुबाट बच्नका लागि मिचिमीची साबुन पानीले हात धुने उपयोगी विधि भएअनुसार प्रदेश अस्पताल सुर्खेतमा बिरामीको चाप अत्याधिक भईरहने भएकाले सिडेन कर्णाली प्रदेश समिति द्वारा हातले नछोइकन संचालन गर्न सकिने दुई वटा हात धुने स्टेसन अस्पताललाई प्रदान गरिएको हो l
वाईन टु वाटरको आर्थिक सहयोगमा सिडेन कर्णाली प्रदेश समितिका सभापती ई. हरि के.सी. द्वारा आज कर्णाली प्रदेश अस्पताल, सुर्खेतका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर बहादुर खड्कालाई हात धुने स्टेसन हस्तान्तरण गरेका छन् l
प्रदेश अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर बहादुर खड्काले होस्ट खबरसंगको कुराकानीमा उक्त हात धुने मेसिन अस्पताललाई सहोयोग पाउदा बिरामीहरुलाई थप सजिलो बन्ने तथा संक्रमणको जोखिम कम हुने बताए ।
उक्त मेसिन वाईन टु वाटरको आर्थिक सहयोग तथा सिडेन कर्णाली प्रदेश समितिको प्राबिधिक सहयोगमा तयार पारिएको थियो l अस्पतालको दुई ठाउँमा राखिएको उक्त मेसिनमा बायाँ गोडाले थिच्दा साबुन र दायाँ गोडाले थिच्दा पानी निस्कन्छ । गोडाको प्रयोग गरि सजिलै हात धुन सकिने छ । उक्त हात धुने मेसिन करिब २० हजारको लागतमा बनेको सभापति ई. के.सि. ले बताए l
यस अघि पनि सिडेन कर्णाली प्रदेश समितिले आफ्नै प्रविधिक र आर्थिक पहलमा एक थान हात धुने स्टेसन कर्णाली प्रदेश अस्पताललाई सहयोग गरेको थियो l