काठमाडौं: त्रिभुवन विमानस्थलबाट आइतबार नौ वटा अन्तर्राष्ट्रिय उडान हुँदैछ। विमानस्थलले सार्वजनिक गरेको तालिका अनुसार आइतबार नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र जजिरा एयरवेजले उडान गर्दैछन्।
यी एयरलाइन्सहरुले दोहा, अबुधाबी, दुबई, दमाम, बहराइन, कुवेत र क्वालालम्पुरबाट चार्टर्ड उडान गरी नेपाली ल्याउने तालिका रहेको विमानस्थलले जनाएको छ।
शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिन ११ अन्तर्राष्ट्रिय उडान भएका थिए। शनिबार भएका ती उडानमार्फत विभिन्न मुलुकमा अलपत्र एक हजार ८२ यात्रु नेपाल फर्किएको विमानस्थलले जनाएको छ। साउदीबाट पाँच, मलेसियाबाट तीन र दमामबाट दुई गरी १० शव पनि नेपाल ल्याइएको छ।
नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादबाट २४९ यात्रु र पाँच शव ल्याएको छ। सोही एयरलाइन्सले दमामबाट १४४ र मलेसियाको क्वालालम्पुरबाट ९६ यात्रु र तीन शव ल्याएको छ।
यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५४ यात्रु र दुई शव तथा कुवेतबाट १५६ यात्रु ल्याएको छ। उक्त एयरलाइन्सको जहाज नेपाली ल्याउन राति दोहा र आबुधाबीतर्फ गएको जानकारी विमानस्थलले दिएको छ।
नेपाल एयरलाइन्सको जहाज पनि दोहा गएको छ भने उद्धार उडानका लागि टर्किस एयरलाइन्स पनि इस्तान्बुल पुगेको छ।
त्यसैगरी कतार एयरवेजले दोहाबाट १२७ र जजिराले कुवेतबाट १५६ यात्रु ल्याएको विमानस्थलले जनाएको छ। रासस