सुर्खेत : सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले छिन्चुमा ईलाका प्रशासन कार्यालय स्थापना गर्नका लागि नगरपालिकाले गरेको निर्णयअनुरुप आवश्यक पहल गर्ने बताएका छन् ।
भेरीगंगा नगरपालिका सुर्खेतले प्रमुख जिल्ला अधिकारी रेग्मीलाई गरेको स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
यो क्षेत्रको प्रशासन, शान्ति सुरक्षालाई अझ मजबुत गराउनका लागि मेरो तर्फबाट सबै पहल हुनेछ, प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, कर्णाली प्रदेशको प्रवेशद्धार भएकोले पनि यहाँ सुरक्षा उपस्थित बढाउनुपर्छ ।

उनले नगरपालिकाले दुई पटक छिन्चुमा ईलाका प्रशासन कार्यालय स्थापनाका लागि नगरसभामार्फत निर्णय गरी पठाएको विषयलाई आवश्यक निर्णयका लागि सिफारिस भईसकेको समेत जानकारी दिए । बजार अनुगमन, विकास निर्माणलगायतका सम्पूर्ण कार्यमा पारदर्शीताका साथ काम गर्नुपर्ने भन्दै स्थानीय सरकारले धेरै कार्य गर्न सक्ने उनको भनाई थियो ।
कार्यक्रममा नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले नगरपालिकाले गरेका महत्वपूर्ण निर्णय कार्यान्वयनका लागि सहयोग गरिदिन आग्रह गरे । उनले भेरीगंगा ५ बबई क्षेत्र हालसम्म नक्सांकनमा नसमेटिएको भन्दै सो कार्यका लागि समेत आवश्यक सहयोग गरिदिन आग्रह गरे ।