सल्यान : सल्यानका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा बसेकाहरु धमाधम भागेर घर जान थालेका छन् । स्वाव संकलन भएको १ हप्ता वित्दा पनि रिपोर्ट नआएको भन्दै ती नागरिकहरु भागेका हुन् । कतिपय क्वारेन्टिनमा बसेकाहरुले सुरक्षाकर्मीलाई ढुंगा प्रहार गरेर पनि भागेका छन् ।
आज मात्रै जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाका ७१ जना नागरिक भागेका छन् । आज आधारभुत विद्यालय लाहाघाटबाट उनीहरु भागेका थिए ।
यस अघि पनि ६ जना क्वारेन्टिनबाट भागिसकेका छन् । केही दिन अघि उनीहरु भानुभक्त प्रावि खनियाखर्कबाट निगालचुलाका ६ जना भागेका हुन् । यस्तै बनगाड क्याम्पस बनगाडको क्वारेन्टाइनबाट १ जना कोरोना पोजेटिभ भागेका थिए । उनलाई लिन घरमै सुरक्षाकर्मी पुगेर पुनः क्वारेन्टाइन ल्याइएको छ । रिपोर्ट ढिलाइ आएको भन्दै भारतबाट आएर क्वारेन्टाइनमा वसेका नागरिक भाग्न थालेका छन् ।
भागेर घर पुगेका कतिपयलाई घरपरिवारले लुकाएर राख्ने गरेको स्थानीयको भनाई छ भने कतिपय कोरोना पोजेटिभ देखिएका नागरिक भाग्नाले समुदायमा त्रास फैलिएको बनगाड नगरपालिकाले जनाएको छ ।