दैलेख : भारतबाट आउने नागरिकको संख्या संगै कोरोना संक्रमण बढेर जोखिमयुक्त जिल्ला घोषाणा गरिएको दैलेखमा पिसिआर मेशीन ल्याइएपछि परिक्षणमा सहजता आएको काम स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा निरञ्जन पन्तले जानकारी दिएका छन् ।
शनिबारबाट सञ्चालनमा ल्याइएको आरटी पिसिआर मेशीनले स्याम्पलका रुपमा सात जनाको स्वाब सङ्कलन गरेर पिसिआर मेसिनको औपचारिक परीक्षण सुरु गरेको हो । दैलेखका राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योगीव्यवसायीको प्रतिनिधिमूलक रुपमा स्वाब सङ्कलन गरिएको डा. पन्तले बताए ।
आजदेखि निरन्तर रुपममा परिक्षण शुरु गरिने भनिएकोमा क्रश भेरीफिकेशनका लागि केही स्वाव संकलन गरी नेपालगञ्ज पठाइएको छ । डा. पन्तका अनुसार सोमबार ९ वटा स्वाव संकलन गरी नेपालगञ्ज क्रश चेक गर्न पठाइएको र त्याहाँबाट रिपोर्ट आउन बाँकी रहेको छ । स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार परिक्षण हुने हो, टेष्टिंग ह्वात्तै हुने चाँही होइन, होष्ट खवरसंग कुराकानी गर्दै डा. पन्तले भने, ‘जे भएपनि दैलेखमा कोरोना परिक्षणका लागि यसले निकै सहजता ल्याएको र परिक्षणको दायरा बढेको छ ।’ मेशीनको क्षमता ९६ वटा परिक्षण गर्न सक्ने भएपनि दैनिक ५० वटा जति स्वाव टेष्ट गर्न सकिने उनले बताए ।
यसअघि भेरी अञ्चल अस्पताल नेपालगञ्जका निर्देशक डा प्रकाश थापाले परीक्षणको स्थलगत अध्ययनसमेत गरेका थिए । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार दैलेखमा अहिले सम्म ७ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ ।
भारतबाट आउने नागरिकको संख्या घट्दै गएको र संक्रमण दर पनि घट्दै गएको मन्त्रालयले जानकारी दिएको छ भने संक्रमितहरु निको भई डिस्चार्ज हुनेको संख्या पनि दिनहुँ बढिरहेको छ । अहिले सम्म कर्णालीमा १४२८ जना संक्रमित संख्या रहेकोमा ९ सय ५६ जना निको भई डिस्चार्ज भइसकेका छन् ।