घोराही : भारत हुदै नेपालका तराई जिल्लामा शनिबार प्रवेश गरेको भनिएको सलह किरा सलह किरा दाङमा समेत देखिएको छ ।
कृषि ज्ञान केन्द्र दाङले तुलसीपुर उपमहानगरपालिका ४ खाद्रेमा सानो झुण्डमा सलह किरा देखा परेको जनाएको हो ।
गएराती स्थानियहरुले किरा उडेको देखे पछि छोपेर राखेका थिए । आज कृषि ज्ञान केन्द्रको टोली खाद्रेमा पुगेर उक्त किराको अध्ययन गरेको छ । ति किराको फोटो नेपाल कषि अनुसन्धान परिषद नार्कमा पठाईएको र परिषद्ले सलह किरा नै भएको पुष्टि गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिए ।
उक्त किराको संख्या थोरै रहेको र वालिनालीमा कुनै असर नगरेको उनको भनाई छ । बारा जिल्लामा हिजो पहिलो पटक देखिएको बालीनाशक सलह किरा विभिन्न जिल्लामा फैलिदै गएको छ । खासगरी प्रदेश २ र ५ मा बथान सहित यी किरा आएकाले किसानहरु चिन्तित रहेका छन् ।
प्रदेश ५ को भारतीय सीमा क्षेत्र हुँदै रूपन्देही आएको सलहको हूल साँझपख पाल्पा, कपिलवस्तु हुदै दाङ आईपुगेको अनुमान गरिएको छ । हावाको गति परिर्बतन हुदा सलह पनि पश्चिम तर्फ फैलिदै गएको छ ।