काठमाडौं : सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेपाल–भारत सीमा क्षेत्रमा ५ मिटर अग्लो पर्खाल लगाउन सुझाव दिएका छन् । शनिबारको स्थायी कमिटी बैठकमा नेता गौतमले यस्तो सुझाव दिएका हुन् । दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनुपर्ने उनको भनाइ छ ।
त्यस्तै नेता गौतमले बैठकमा खुल्ला सिमाना बन्द गरी भिसा (प्रवेशाज्ञा प्रणाली) लागू गर्नुपर्ने बताएको उनको सचिवालयले जनाएको छ । स्थायी कमिटीमा गौतमले पेश गरेको ६ बुँदे सुझावमा भनिएको छ, ‘अब ढिला नगरी नेपाल भारतबीच रहेको खुल्ला सीमाना बन्द गरी प्रवेशाज्ञा प्रणाली लागु गर्नुपर्छ। प्रवेशाज्ञा भने निःशुल्क उपलब्ध हनुपर्छ। सिमानामा दुवै राष्ट्रको हितका निम्ति दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनुपर्छ ।’
गौतमले हाम्रा दुवै छिमेकी राष्ट्रसँग रहेका नेपालका कुनै पनि समस्या समाधान गर्न युद्धको कल्पनासमेत गर्न नहुने बताएका छन् । सबै समस्या शान्ति वार्तावाट नै समाधान गर्नुपर्ने उनको भनाइ छ । ‘हाम्रा दुवै छिमेकी राष्ट्रसँग रहेका नेपालका कुनै पनि समस्या समाधान गर्न युद्ध गर्ने त कुरै छाडौ कल्पना पनि गर्न सकिन्नँ । सबै समस्या शान्तिवार्ताबाट नै समाधान गर्नुपर्छ’, उनले भनेका छन् ।
त्यस्तै उनले महाकाली नदीको एकिकृत विकास सम्बन्धी सन्धि राष्ट्रघाती छ भनेर संयोजकको ह्वीप उल्लंघन गरेको आरोपमा म सहितका १६ जना एमालेका शिर्षस्थ नेताहरुलाई पार्टीबाट अन्यायपूर्वक निष्कासन गरिएको स्मरण गर्दै एमालेको उक्त निर्णय गलत थियो भन्ने निर्णय गर्न पनि माग गरेका छन् ।