नेपालगन्ज : किर्ते कागजात बनाएर ग्राहकलाई ऋण दिएका एक बैंकका शाखा प्रवन्धकलाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज स्थित राष्ट्रिय बाणिज्य बैंक त्रिभुवनचोक शाखाका प्रवन्धक ललितबहादुर शाहीलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
नेपालगन्जका सुुनचाँदी ब्यबसायी रिजवान अहमद जसगढले जग्गाको लालपूर्जा, नक्सा, कर तिरेको रसिद सहितका कागजपत्रहरु नक्कली बनाएर राष्ट्रिय बाणिज्य बैंकको त्रिभुवन चोक शाखाबाट एक करोड २५ लाख रुपैयाँ ऋण लिएको घटनामा बैंकका शाखा प्रवन्धक शाही पक्राउ परेको प्रहरीले जनाएको छ ।
जसगढलाई भने प्रहरीले यसअघि नै पक्राउ परिसकेको छ । प्रहरीले किर्ते कागजातको अनुसन्धान गर्दै जाँदा बैंकका प्रवन्धक शाहीलाई पक्राउ गरेको हो । बैंकका अरु कर्मचारीसँग पनि बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ ।