रुकुम पश्चिम : रुकुम जिल्ला अदालतले जिल्लाको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा जेठ १० गते नवराज विकसहित ६ जनाको ज्यान जाने गरि भएको घटनाका अभियुक्तमध्ये फरार ५ जनाविरुद्ध पक्राउ पुर्जी जारीको आदेश दिएको छ । रुकुम जिल्ला अदालतले उनीहरु विरुद्ध पक्राउ पूर्जी जारी गर्दै नियमानुसार गर्न आदेश गरेको हो ।
नवराजसहित ६ जनाको हत्यामा संलग्न भएको आरोपमा ३४ जना विरुद्ध मुद्दा दर्ता गरिए पनि हालसम्म २९ जना अभियुक्त पक्राउ परेका छन् । घटनापछि दर्ता भएको अभियोग पत्र र थुनछेक बहसपछि रुकुम जिल्ला अदालतका न्यायाधीश विद्याराज पौडेलले यस्तो आदेश गरेका हुन् । आदेशमा घटनाका २३ प्रतिवादीलाई मुद्दा पुर्पक्षको लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश गरेसँगै कारागार चलान भएका छन् ।
एक लाख धरौटीमा छोड्न आदेश गरेका अर्का प्रतिवादी पनि धरौटी रकम बुझाउन नसकेपछि उनीहरुसँगै कारागार चलान भएका छन् । नवराज विककी प्रेमिका भनिएकी किशोरीकी आमा पनि धरौटी बुझाउन नसकेपछि जेल गएकी छन् । यो घटनामा अन्य ३ जनालाई भने साधारण तारेखमा छोड्न आदेश दिइएको छ ।