जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिका प्रसाहीका १६ वर्षीय राजु सदा अस्पतालको आइसोलेसन वार्डको भुइँमा छठपटाइरहेका थिए । उनी कतिबेला खुट्टा उचाल्थे त कति बेला हात चलाउँथे । कहिले कपाल बेस्सरी लुछ्थे । उपचार नपाएर क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ।
तर स्वास्थ्यकर्मी, चिकित्सक कोही पनि हेर्न आएनन् । राजुको पीडा देख्न नसकेरै सँगै आइसोलेसनमा रहेका अरुण सदाले नजिकै गएर सोध्थे, ‘ए राजु, राजु १ के भो हँ ?’ तर राजु केही बोल्न सकेनन् । अरुणले भुइँबाट उठाएर बेडमा राखे । शरीर थप्थपाए । तर राजुको पीडा २० को १९ भएन । पीडाले हातखुट्टा चलाए, सिरानी च्यापे । आइसोलेसन सेन्टरमा घण्टौंसम्म छटपटाउँदा पनि राजुले उपचार पाएनन् ।
अन्ततस् सोमबार साँझ आइसोलेसन अस्पतालभित्रै राजु सदाको प्राणपखेरु सदाका लागि अस्तायो ।
क्वारेन्टाइनको भद्रगोल व्यवस्थापनले झाडापखाला लागेर क्वारेन्टाइनमा सिकिस्त भएर प्रादेशिक अस्पतालमा भर्ना भएका राजुको उपचार नपाएर मृत्यु भएको हो।
भारतको मद्रासबाट गत जेष्ठ १४ गते आठ दिनको पैदल यात्रा गरेर नेपाल फर्किएर हंसपुर ९ स्थित नौवाखोर क्वारेन्टाइनमा बस्दै आएका युवकको उपचार नपाउँदा मृत्यु भएको मृतक राजुका बुवा असे सदाको आरोप छ। उनले भने, ‘क्वारेन्टाइनमा छोरा भेट्न जादा राजुले पखाला लागेको र सामान्य हिँडडुल गर्दै बोल्दै खानासमेत खाइरहेको थियो, तर पखालाले शरिर गल्दै थियो, हामीले त्यहाँका डाक्टर साबलाई राजुलाई पखाला लागेको साथै वान्ता भएकोले हेरेर पानी चढाइदिन भन्दा पानी चढाउन नपर्ने भन्दै हप्कायो, पछि त्यहाँबाट प्रादेशिक अस्पतालमा ल्याएर राखियो, र उपचार नपाएर केही दिन नबित्दै मेरो छोरोको छट्पटाउँदै–छट्पटाउँदै मृत्यु भयो ।’
१६ वर्षीय कलिलै छोराको मृत्युको वियोगमा भक्कानिदै असे सदाले भने, ‘पखाला लागेको छोरालाई एउटा जीवनजलसमेत क्वारेन्टाइनमा दिन सकेन, हामीले छोरा भेट्न जाँदा बिरामी भएको सुनेर पैसा लिएरसमेत उपचार गरिदिन भन्दा कसैले मानेन, डाक्टरहरुले यहाँबाट अन्यत्र लान अनुमति छैन, औषधि दिएको छु, आफैँ ठीक हुन्छ, भनि हामीलाई हप्काउँदै पठायो, तर त्यसको केही दिन नबित्दै मेरो छोरालाई हामीलाई थाहै नदिई प्रादेशिक अस्पताल पठायो, मर्ने बेलामा हामीलाई जानकारी भयो, तर उपचार गराउन खोज्दा खोज्दै छोराको मृत्यु भयो ।’ उनले आँखाबाट आसु झार्दै भने ।
क्वारेन्टाइनमा झाडापखालाले सिकिस्त भएका राजुलाई ट्रिपरमा चढाएर जेष्ठ २८ गते जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याइएको थियो। तर अस्पतालभन्दा बाहिर वेटिङ्ग हलमा राखेका उनलाई कसैले वास्ता गरेनन्। स्थानीय पच्चु माझिले भने, ‘अस्पताल ल्याउँदासमेत राजुलाई पखाला लागेर टाउँको दुख्थ्यो, वान्ता हुन्थ्यो, छटपटाउथ्यो तर कसैले के भयो भनेर हेर्न आएन, गत शुक्रबार पेट दुख्दा छट्पटिएर बेडबाट तल झरेका राजुलाई नर्सले सामान्य उपचार गरेपनि निको भएका थिएनन्,’ ‘माझिले भने, ‘पेटको असामान्य किसिमको दुखाईले स्लाईन पानी दिइएपनि मृत्युवरणको अवस्थामा पुगेपछि मात्र यहाँबाट लिएर जान भन्यो, नभन्दै आषाढ ९ गते अस्पतालका चिकित्सकले उपचार गर्न बाहिर लैजानु भनि पठाएपछि ईमेरजेन्सीमा भर्ना नहुँदै राजु सदाको मृत्यु भएको थियो ।’ उनले वृतान्त सुनाए।
मृतक राजु सदा मुसहरको कोरोना रिपोर्टसमेत नेगेटिभ आएको प्रादेशिक अस्पतालले जनाएको छ। यता परिवारजनले क्वारेन्टाइन र प्रादेशिक अस्पतालको लापरवाहीले राजुको मृत्यु भएको विरोधमा न्यायको माग गर्दै प्रदर्शन गरेका छन्। उनीहरुले घटनाको छानबिनसहित क्षतिपुर्तिको माग गरेका छन्। उनीहरुले प्रादेशिक अस्पतालमा खटिएका चिकित्सकको लापरवाही तथा क्वारेन्टाइन व्यवस्थापकलाई कारवाहीको माग गरेका छन्।