सप्तरी : बिहिबार विहानै चट्याङ् लागेर सप्तरीमा ४ जनाको ज्यान गएको छ । बर्षा संगै परेको चट्याङ्ले सप्तरीको छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले ज्यान गएको छ । प्रहरीका अनुसार बिहानै सप्तकोशीमा नुहाउन गएका महदेवा वडा नम्बर २ का एक वृद्ध र युवकको सप्तकोशी नदी छेउमै मृत्यु भएको छ ।
यस्तै, खेतमा धान रोप्न जाँदा डाक्नेश्वरी नगरपालिका ९ लक्षनपट्टीका ३० वर्षीया ललितादेबी यादवको मृत्यु भएको छ । यसैगरि, राजगढ गाउँपालिका वडा नम्बर २ बेल्ही चपेनाका खेतमा काम गर्न गएका ४६ वर्षीय केसी साहको पनि चट्याङ् लागेर मृत्यु भएको छ । यस्तै, बेल्ही चपेनाकै १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छन् । उनको अस्पतालमा उपचार भइरहेको छ ।