चितवन : भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७ /७८ को लागि ४ अर्ब ५१ करोडको बजेट ल्याएको छ ।
बुधबार देखि सुरु भएको छैटौं नगरसभामा महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले आर्थिक वर्ष २०७७ /७८ को बजेट सार्वजनिक गरिन् ।
उनले पुरक बजेट र थप अख्तियारीसहित ४ अर्ब ५१ करोड २८ लाख ८ हजार रुपैयाँको बजेट सार्वजनिक गरिन् ।
बजेटमा शहरी सौन्दर्य र भू-उपयोग एवं बस्ती विकास, स्वास्थ्य सेवामा सुधार एवं पहुँच, शैक्षिक उन्नयन एवं युवा तथा खेलकुद, कृषि तथा पशुविकास, वातावरण संरक्षण एवं विपद् व्यवस्थापन, रोजगारी सिर्जना तथा सहकारी क्षेत्रको प्रवर्द्धन, लक्षित वर्गको उत्थान एवं सशक्तीकरण र सामाजिक समावेशीकरण, प्रविधि प्रयोग तथा डिजिटल प्रणाली, संस्कृति तथा पर्यटन प्रवर्द्धन लगायतका विषयलाई प्राथमिकता दिइएको छ ।
बजेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण तथा अन्य रणनीतिक महत्वका पूर्वाधार निर्माण गर्न ४७ करोड ३० लाख ९७ हजार विनियोजन गरिएको छ भने स्वास्थ्य सेवामा महानगरबासीको पहुँच सुनिश्चित गर्न भन्दै ९ करोड ५० लाख विनियोजन गरिएको छ ।
कृषि तथा पशुसेवाका कार्यक्रममा अनुदान प्रदान गर्ने, कृषि ऋणमा २ प्रतिशत व्याज अनुदान उपलब्ध गराउने गरी कृषितर्फ रु। ८ करोड ५० लाख तथा पशु विकास कार्यक्रमतर्फ रु। ७ करोड गरी कुल जम्मा रु। १५ करोड ५० लाख विनियोजन गरिएको छ ।
बृहत पर्यटन गुरुयोजना तयार लयागतका कार्यक्रम कार्यान्वयन गर्नको लागि एकमुष्ठ ३ करोड विनियोजन गरिएको छ भने खेलकुदका लागि २ करोड विनियोजन गरिएको छ ।