झापा : एकका लागि एक अभियान मार्फत झापामा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर मेशीन खरिद गर्न ८० लाख रुपैयाँ उठाइएको छ ।
पिसिआर ल्याब कनकाईको कोटिहोममा रहने गरी नागरिक स्तरबाट मेशीन खरिदका लागि अभियान शुरु गरी उक्त रकम उठाइएको हो ।
कोटिहोममा रहेको समर्पण राष्ट्रिय भवनको दुईवटा कोठामा ल्याव सञ्चालन गरि जनतालाई सेवा दिने अभियानका परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।
यसअघि अभियानले बिर्तामोड, अर्जुनधारा र कनकाई नगरसँग ल्याब सञ्चालनबारे प्रस्ताव पठाएको थियो । उनीहरुको सल्लाहमा कोटिहोममा ल्याब स्थापनाको टुंगो लागेको हो । अभियानले १ नम्बर प्रदेश सरकारलाई पिसिआर ल्याब मेसिन तथा अन्य उपकरण हस्तान्तरण गरेपछि नगरले सञ्चालनको जिम्मेवारी पाउने प्राविधान छ ।
यसैबीच, अभियानले मेसिन तथा त्यसका लागि आवश्यक पर्ने फ्रिजलगायतका अन्य सामग्री खरिदको प्रक्रिया अघि बढाएको सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । झापाका १५ वटा स्थानीय तह सहमत भए भविष्यमा सो ल्याब भएको भवनलाई सरुवा रोग अस्पतालको रुपमा विकास गर्ने अभियानको योजना छ ।
अभियानले अन्नपूर्ण हस्पिटलका चिकित्सक वसन्त पन्त र बिर्तामोडका बायो मेडिकल इन्जिनियर मिसाल पोखरेललाई ल्याब स्थापना र त्यसको भौतिक पूर्वाधार तथा अन्य पाटोका बारेमा अध्ययनको जिम्मेवारी दिएको छ ।