काठमाडौं : शिक्षा मन्त्रालयले यस बर्षको कक्षा १० को अन्तिम परीक्षा (एसईई) साविकको शैलीमा नगरी विद्यालयकै मूल्याँकनलाई मान्यता दिन प्रस्ताव गरेको छ ।
साविककै शैलीमा परीक्षा गर्न नसकिने निष्कर्श साथ मन्त्रालयले तयार गरेको उक्त प्रस्ताव बुधबारको मन्त्रीपरिषद्मा लगिएको छ । मन्त्रीपरिषद्ले उक्त प्रस्ताव हुवहु पारित गर्यो भने यो बर्ष कक्षा १० को परीक्षा हुने छैन । आगामी बर्ष देखि प्रदेश स्तरमा सञ्चालन हुने छ ।
विद्यालयले यस अघि नै गरेको मूल्याँकनलाई स्थानीय तहमा रहेको कक्षा ८ को परीक्षा सञ्चालन गर्ने संयन्त्रबाट सिफारिस गर्ने, उक्त कामको अनुगमन प्रदेश सरकारले गर्ने र राष्ट्रिय परीक्षा बोर्डबाट प्रमाणिकरण गर्ने गरी प्रस्ताव तयार पारिएको मन्त्रालय श्रोतले जनाएको छ । उक्त विषयलाई मन्त्रीपरिषद्ले निर्णय गरे पछि राजपत्रमा प्रकाशन गरी तत्कालै कार्यान्वयनमा लैजाने मन्त्रालयको तयारी छ ।
ुयो प्रस्ताव यो बर्षका लागि मात्रै हो, आगामी बर्ष देखि उक्त परीक्षा प्रदेश तहमा सञ्चालन हुने छु उक्त श्रोतले भन्यो ुयस बारेमा मन्त्रालयले सबै प्रदेशका सामाजिक विकास मन्त्रालयसँग छलफल गरिसकेको छ ।ु
कोरोना भाईरसको जोखिमका कारण परीक्षा आउन १२ घण्टा पनि बाँकी नहुँदा गत चैत ५ गते सरकारले स्थगित गर्ने निर्णय गरेको थियो । त्यस लगत्तै चैत ११ गतेबाट जारी लकडाउनका कारण अवस्था असहज भए पछि परीक्षा हुने नहुने अन्योलले विद्यार्थी अभिभावक मारमा परेका थिए ।
परीक्षाका बारेमा सुझाव दिन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको संयोजकत्वमा गठन गरेको समितिले पनि परीक्षा गर्न सुझाव दिए पछि उक्त अन्योल थप बढेको थियो । तर, यस्तो प्रतिकुल अवस्थामा परीक्षाको रटान लगाउनुको औचित्य नभएको भन्दै आलोचना भए पछि मन्त्रालयले नयाँ प्रस्ताव तयार पारेको हो ।
एडुखवर डटकम