एजेन्सी : विश्व च्याम्पियन धाविका सल्वा इद नासिर २ बर्षका लागि निलम्बनमा परेकी छन् ।
शक्तिबर्धक अर्थात् प्रतिबन्धित औषधि प्रयोग (डोपिङ) परीक्षण नगरेपछि बहराइनका धाविका नासेरलाई दुई वर्षका लागि निलम्बन गरिएको हो ।
महिलाको ४ सय मिटरमा विश्व च्याम्पियन नासिर पछिल्लो १२ महिनामा तीनपटकसम्म डोपिङ परीक्षणमा अनुपस्थित भएपछि उनलाई दुई वर्षका लागि निलम्बन गरिएको हो ।
एक वर्षभित्र तीनपटक डोपिङ परीक्षण नगरेको अवस्थामा एथलेटिक्सको एन्टी डोपिङ नियम उल्लंघन गरेको मानिन्छ । निलम्बनपछि नासिरले आफूले तीनपटक डोपिङ परीक्षण गर्न असफल भएको स्वीकार गरेकी छन् । उनले यो घटना सामान्य भएको समेत बताएकी छन् । ‘मैले धोका दिएको छैन । दिने छैन पनि,’ इन्स्टाग्रामबाट उनले भनेकी छन्, ‘मैले तीनपटक परीक्षणको मौका गुमाए । यो सामान्य हो । यो हुन्छ । मानिसहरूलाई अलमलमा पार्न चाहन्नँ । किनकि म कहिल्यै धोका दिन्नँ ।’
नासिरलाई ४ सय मिटरको दौडको इतिहासमा विश्वको तेस्रो फास्टेस्ट खेलाडीका रूपमा चिनिन्छ । सन् २०१९ मा कतारको दोहामा भएको विश्व च्याम्पियनसिपमा उनले ४ सय मिटरमा स्वर्ण जितेकी थिइन् । उनले निर्धारित दूरी ४८.१८ सेकेन्डमा पार गर्दै विश्व च्याम्पियन बनेकी थिइन् ।