रुकुम : रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती घटनाको आरोपितलाई १० दिन थुनामा राख्न जिल्ला अदालत रुकुमले अनुमति दिएको छ ।
अदालतले हत्याकाण्डमा पक्राउ परेका १८ जनालाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। पक्राउ परेका १८ जनामा चौरजहारी ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसमेत छन्। प्रहरीले भने अनुसन्धानका लागि ११ दिनको म्याद मागेको थियो ।
जेठ १० गते प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट सोती आएका नवराज विकसहितका युवाहरुलाई गाउँलेले आक्रमण गरेका थिए । त्यही क्रममा जाजरकोटको भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सन्दिप विक, लोकेन्द्र सुनार र गोविन्द शाही तथा चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको उक्त घटनामा मृत्यु भएको छ । उनीहरु सबैको शव भेरी नदी र नदी किनारमा भेटिएको थियो ।
नवराजको चौरजहारी–८ की मल्ल थरकी १७ वर्षीया किशोरीसित प्रेम सम्बन्ध रहेको र उक्त सम्बन्धलाई विवाहमा परिणत गर्ने क्रममा युवाहरुको हत्या भएको पीडित परिवारले बताएका छन् ।
तल्लो जातको केटासित आफ्नी छोरी नदिने भन्दै गाउँले युवाहरुमाथि आक्रमण गरेको र सोही क्रममा ६ जना युवाको ज्यान गएको पीडितका आफन्तले बताएका छन् ।
पीडित परिवारले २० जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन् । जाहेरी परेकामध्ये दुइै जना अझै फरार छन् ।