दैलेख : जिल्लाको भैरवी गाउँपालिकाले आरडीटी परीक्षणमा एन्टीबडी पोजिटिभ देखिएका चार स्थानीयलाई भैंसीको गोठमा राखिएको छ । आइसोलेसन नभएपछि उनीहरुलाई त्यसरी गोठमा राखिएको हो ।
आरडिटी परीक्षणअघि उनीहरु ३ नम्बर वडाको देउती आधारभूत विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका थिए । परीक्षणमा पोजेटिभ भेटिएपछि उनीहरुलाई क्वारेन्टाइनबाट भैंसीगोठमा पठाइएको हो ।
गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी विष्टका अनुसार आइसोलेसन नभएको र क्वारेन्टाइनमा राख्दा अरुलाई सर्ने देखिएपछि सुरक्षित रुपमा गोठमा पठाइएको हो ।
एक्कासी धेरै मानिस आएपछि व्यवस्थापनमा कठिनाई भएको उनको गुनासो छ । एउटै कोठामा ५० जना राख्दा पनि व्यवस्थापन कठिन भइरहेको स्थानीय सरकारको गुनासो छ ।