नयाँ पत्रिका दैनिक /सुर्खेत : भारतबाट नेपाल फर्कनेको संख्या बढेसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ । पछिल्लो एक सातामा मात्र ७९ जनामा संक्रमण पुष्टि भएको छ । परीक्षण बढाइएपछि प्रदेशमा रहेका दुईवटा प्रयोगशालामा पनि चाप बढेको छ ।
कर्णालीमा सुर्खेतस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थ्रोट स्वाब परीक्षण हुन्छ । दुवै प्रयोगशालाबाट दैनिक औसत चार सय नमुनाको परीक्षण हुने गरेको कर्णाली स्वास्थ्य निर्देशनालयका निर्देशक रीता जोशी भण्डारीले बताइन् । दुवै ठाउँमा एकपटक ९६ नमुना परीक्षण गर्न सक्ने पिसिआर मेसिन छन् । ‘एउटा मेसिनले एकपटकमा ९६ नमुना परीक्षणको क्षमता राख्दछ, तर दैनिक २० घन्टा मेसिन सञ्चालन गरी चार सयसम्म नमुना परीक्षण गरिएको छ,’ उनले भनिन् ।
तैपनि करिब हजारभन्दा बढी नमुना परीक्षण हुन बाँकी छन् । शनिबार साँझसम्म सुर्खेतमा एक सय ५० र जुम्लामा नौ सय नमुना परीक्षण गर्न बाँकी छन् ।
पछिल्लो समय सुर्खेतबाट पनि परीक्षणका लागि जुम्ला नमुना पठाइन थालेको छ । बिहीबार मात्र सुर्खेत र दैलेखमा संकलन गरिएका आठ सय ८० नमुना जुम्लामा परीक्षण गरिएको निर्देश्क भण्डारीले बताइन् । ‘भारतबाट फर्किनेको संख्या बढेसँगै सुर्खेतको मेसिनमा भार पनि बढी हुने भएकाले केही नमुना जुम्ला पठाइएको हो,’ उनले भनिन् । अझै पनि सुर्खेतमा चाप घटेको छैन, पत्रकार खगेन्द्र भट्टराईले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन् ।