काठमाण्डौं : अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान ‘बजेट’ प्रस्तुत गरेका छन् ।
सरकारले आगामी आर्थिक वर्षमा १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. खतिवडाले आज संघीय संसदको दुबै सदनमा संयुक्त रुपमा प्रस्तुत गरिएको उक्त बजेटमा ९ खर्ब ४८ अर्ब ९४ करोड चालु खर्चका लागि विनियोजन गरिएको छ ।
सरकारले चालू खर्चका लागि कुल बजेटको ६४.४ प्रतिशत अर्थात् ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ छुट्याएको छ। पुँजीगत खर्च भने २३.९ प्रतिशत अर्थात् ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ छुट्याइएको छ। त्यस्तै, वित्तीय खर्चतर्फ १ खर्ब ७२ अर्ब ७९ करोड अर्थात् ११.७ प्रतिशत बजेट छुट्याइएको छ ।
चालू आर्थिक वर्षको लागि सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख बजेट छुट्याएको थियो। चालू खर्चतर्फ ६२.४ प्रतिशत, पुँजीगत खर्चतर्फ २६.६ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ११ प्रतिशत रकम छुट्इयाएको थियो ।
सरकारले आगामी आर्थिक वर्षको लागि स्रोत व्यवस्थापनतर्फ भने सामान्य लक्ष्य राखेको छ । सरकारले स्रोत व्यवस्थापनमा राजस्वतर्फ ८ खर्ब ८९ अर्ब ६२ करोड, वैदेशिक अनुदानतर्फ ६० अर्ब ५२ करोड, वैदेशिक ऋण २ खर्ब ९९ अर्ब ५० करोड र आन्तरिक ऋण २ खर्ब २५ अर्ब रुपैयाँको स्रोेत व्यवस्थापन गर्ने जानकारी दिएको छ।
चालू आर्थिक वर्षको बजेटको स्रोततर्फ सरकारले राजस्व ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख, वैदेशिक अनुदान ५७ अर्ब ९९ करोड ५५ लाख, वैदेशिक ऋण २ खर्ब ९८ अर्ब ८३ करोड ३३ लाख र आन्तरिक ऋण १ खर्ब ९५ अर्ब रुपैयाँको लक्ष्य राखेको थियो ।
सरकारले चालू आर्थिक वर्षको लागि ७ प्रतिशतको आर्थिक वृद्धि र ७ प्रतिशतको मूल्यवृद्धि रहने प्रक्षेपण पनि गरेको छ ।