काठमाडौँ : विवादास्पद अभिव्यक्ति दिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारबाही गर्न माग गरिएको छ।
संघीय संसदको प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद विमल प्रसाद श्रीवास्तवले शेर्पालाई कारबाही गर्न माग गरेका हुन्।
सांसद श्रीवास्तवले बैठकमा भने, ‘उहाँले मधेशीहरुलाई सेनाको माध्यम लगाएर राष्ट्रिय गान सिकाउँदै छु भन्नेजस्ता अभिव्यक्ति दिनुभएको हुनाले त्यस्ता अभिव्यक्ति दिने ती जिम्मेवार व्यक्तिलाई छानबिन गरी आवश्यक कारबाही गर्न सभामुखमार्फत माग गर्दछु।’
एक अन्तर्वार्तामा अध्यक्ष शेर्पाले तराई मधेशका जनतामा राष्ट्रियताको भावना कम भएकाले उनीहरुलाई राष्ट्रियता सिकाउन जरुरी रहेको बताएपछि पुनः एकपटक विवादमा तानिएका हुन्।
नेपाल आर्मीसँगको सहकार्यमा तराईका सप्तरी, सिरहा, धनुषा र महोत्तरीमा ग्रासरुट फुटबल सुरु गरेको बताउँदै अध्यक्ष शेर्पाले तराईका बच्चाहरुलाई फुटबलप्रति आकर्षण गर्नका लागि र राष्ट्रियता सिकाउनका लागि गरिएको बताएका थिए।
फुटबल सिक्नका लागि ब्यारेकमा आउँदा राष्ट्रिय गीत सिक्ने, नेपालको विषयमा चर्चा हुने र फुटबलको माध्यमबाट खेलाडी उत्पादन गर्न यस्तो गरिएको अभिव्यक्ति उनले दिएका थिए।